भारतको एनडीसी प्रतिनिधिमण्डलद्धारा नेपाल भ्रमण सम्पन्न
अष्ट्रेलिया, भुटान , जापान , कजाकिस्तान , ओमान र अमेरिका तथा भारतका निजामती सेवा र रक्षा बलका २१ जना वरिष्ठ अधिकारीहरु सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६४ औँ कोर्षको एक प्रतिनिधिमण्डलले मिति २०८१ भाद्र १६ गतेदेखि २० गतेसम्म नेपालको पाँच दिने भ्रमण सम्पन्न गरेको छ ।
रियर एड्मिरल सन्दीप एस सन्धु,एनएम,सिनियर डाइरेक्टिङ्ग स्टाफ (भारतीय नौ-सेना) ले नेतृत्व गर्नुभएको भ्रमण टोलीले नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री श्री रमेश लेखक, माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र माननीय रक्षामन्त्री श्री मानवीर राईसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
उक्त भ्रमण टोलीले नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलसँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको थियो । टोलीले काठमाडौंस्थित नेपाली सेनाको मुख्यालय र पश्चिम पृतना हे.क्वा. को भ्रमण गरी रक्षा सहकार्य प्रवर्द्धन हेतु विभिन्न पक्षमाथि छलफल गरेको थियो ।
उच्च राष्ट्रिय निर्देशन तथा रणनीतिका व्यापक पक्षहरूबारे वरिष्ठ रक्षा र निजामती सेवा अधिकारीहरूका लागि भारतको राष्ट्रिय रक्षा महाविद्यालय विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरू मध्ये एक हो। विदेशी मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीहरू पनि उक्त कोर्षमा सहभागी छन्। हाल नेपाली सेनाका चार जना अधिकृतहरु यस प्रतिष्ठित कोर्षमा सहभागी छन् भने नेपाली सेनाका निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनामा कार्यरत १५ जना अधिकृतहरु यस सम्मानित संस्थाका विशिष्ट पूर्व छात्र हुन् ।


