सहकारीको रकम दुरुपयोग छानबिन विशेष समितिको म्याद १५ दिन थपियो – Nepalboli

सहकारीको रकम दुरुपयोग छानबिन विशेष समितिको म्याद १५ दिन थपियो

   २०८१ भाद्र १८, मंगलवार  

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि १५ दिन थप भएको छ। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समितिको कार्यविधि १५ दिनका लागि थप गरिएको हो।

बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो। तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। तर तीन महिनामा काम नसकेपछि सभापति थापाले समितिले १५ दिनका लागि म्याद थप गर्न प्रतिनिधि सभा बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको हो।

समितिले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत स्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो। समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य हुनुहुन्छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै