सहकारी छानबिन संसदीय समितिको म्याद १५ दिन थप हुने – Nepalboli

सहकारी छानबिन संसदीय समितिको म्याद १५ दिन थप हुने

   २०८१ भाद्र १७, सोमबार  

सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिको म्याद १५ दिन थप हुने भएको छ । मंगलबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

तत्कालीन गृह मन्त्री रवि लामिछानेमाथि विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि १५ जेठमा एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।

तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदै छ ।

सभापति थापाले सभामुख देवराज घिमिरेलाई भेटेर समितिको म्याद थपका लागि प्रस्ताव राखेपछि सभामुखले उक्त विषय प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राख्न लगाएका हुन् । संसद सचिवालय स्रोतका अनुसार यो समितिको म्याद १५ दिन थप गर्ने राजनीतिक सहमति भइसकेको छ र त्यसै अनुसार मंगलबारको प्रतिनिधि सभा बैठकबाट निर्णय हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै