राष्ट्रपतिद्वारा भगवती मन्दिरको दर्शन र रथयात्रा अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक भगवती मन्दिरको दर्शनसहित रथ यात्राको अवलोकन गर्नुभएको छ । मङ्गलबार तानसेनमा निकालिएको भगवती रथयात्राको राष्ट्रपति पौडेलसहित रक्षामन्त्री मानवीर राई, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलगायतले दर्शन गर्नुभएको छ ।
विस १८७७ सालदेखि सञ्चालन भएको भवगती रथयात्रा हालसम्म पनि निरन्तर कायम छ । विस १८७१–०७२ मा नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली फौजले जितगढी किल्लामा विजयी हासिल गरेपछि रथयात्रा (खटयात्रा) गर्ने प्रचलन सुरु भएको हो ।
तत्कालीन नेपाली सेनाका कर्णेल उजिरसिंह थापाले युद्धमा विजयी भए भगवतीको महिमा फैलाउने भाकल गर्नुभएको थियो । सोही बेलादेखि आफ्नो मनोकामना पूरा भएको भन्दै कर्णेल थापाले भगवती रथयात्रा गर्ने प्रचलनको प्रारम्भ गर्नुभएको थियो ।