चिनियाँ कम्पनीले बनाईरहेको मुग्लिन-पोखरा सडक, एक महिनामात्र समय बाँकी हुँदा २८ प्रतिशत काम – Nepalboli

चिनियाँ कम्पनीले बनाईरहेको मुग्लिन-पोखरा सडक, एक महिनामात्र समय बाँकी हुँदा २८ प्रतिशत काम

   २०८१ भाद्र ११, मंगलवार  

चिनियाँ कम्पनीले ठेक्का लिएर बनाईरहेको मुग्लिन-पोखरा सडक विस्तार कार्यका समय एक महिना मात्र वाकी रह्दा २८ प्रतिशत मात्र काम भएको छ । गत वर्ष नौ प्रतिशत भौतिक प्रगतिमा सीमित रहेको यस खण्डमा अहिले २८ प्रतिशत प्रगति पुगेको छ।

यस खण्डमा चार र छ लेनको सडक निर्माण गरिनेछ। सडकको बीच भागबाट दायाँबायाँ २५/२५ मिटर दूरी कायम गरी सडक विस्तार कार्य गरिएको छ। त्यसअनुरुप दुई लेनमा २० किमी सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ।

पश्चिम खण्ड विस्तारका लागि २०७८ भदौमा सम्झौता गरिएको थियो। यो खण्डको काम २०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ। सम्झौता अवधि सकिन अब एक महिना मात्रै बाँकी रहेको छ।

कार्यअन्तर्गत पश्चिम खण्डमा निर्माणधीन १३ पुलमध्ये पाँच पुलको निर्माण कार्य सम्पन्न भएको छ। पश्चिम खण्डमा रहेको ३८ दशमलव ८८ किमी सडकअन्तर्गत उक्त पुल निर्माण गरिएका हुन्। पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार आठ पुलका गाडी गुड्ने संरचनाको निर्माण भइसकेको छ।

निर्माण कार्य ढिलो गरी सुरु गरिएको र कोरोनाका कारण निर्माण कार्य प्रभावित हुँदा सोचेअनुरुप प्रगति हासिल गर्न नसकिएको इन्जिनियर पौडेलले बताए। उनका अनुसार यस खण्डमा निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ। सडक निर्माणमा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ। यस खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख रकम रहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै