प्रधानमन्त्री सहभागी कार्यक्रममा सरकारविरुद्ध नाराबाजी
सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा सरकार विरुद्ध नारावाजी भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावललगायत शिर्ष नेताहरु उपस्थित थिए ।
कार्यक्रममा एक समूहले सरकार विरुद्ध नाराबाजीमा उत्रिए पछि कार्यक्रम नै एक छिन विथोलिएको थियो । त्यस पछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताए। सोही घटनालाई लक्षित गर्दै ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता बिर्सिएको बताएका हुन्।
‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ। यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन्। अरुका कार्यक्रम बिथोल्ने गरेका छन्। म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन’, उनले भने।
नेपाल मेलमिलापको देश हो भन्दै उनले नेपाली समाज जति भाँड्न खोजे पनि नभाँडिने टिप्पणी गरे। ‘नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन।’