प्रतिनिधि सभामा सांसदको प्रश्न प्रधानमन्त्रीको जवाफ
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठकमा बिहीबार सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको छ । विभिन्न दलका १३ जना सांसदले सोध्नुभएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुभएको हो।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद नारायणप्रकाश साउदले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले भारतमा विद्युत् निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबमोजिम ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० तयार पारेको बताउनुभयो । प्रधानमन्त्रीले उक्त मार्गचित्र तथा कार्ययोजनामा आर्थिक वर्ष २०९१/९२ सम्म करिब १३ हजार पाँच सय मेगावाट विद्युत् आन्तरिक माग पूर्तिका लागि र करिब १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा निर्यात गरिने उल्लेख रहेको बताउनुभयो ।
साथै सो अवधिसम्म नेपालको कूल विद्युत् उत्पादन क्षमता २८ हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्य लिइएको र उक्त मार्गचित्र तथा कार्ययोजना मन्त्रिपरिषद्मा पेस भइसकेको उहाँले बताउनुभयो ।
हाल नेपालको कूल विद्युत् उत्पादन क्षमता करिब तीन हजार दुई सय ४० मेगावाट पुगेको र आव २०९०/९१ सम्ममा करिब २६ हजार मेगावाट विद्युत् थप उत्पादन हुने प्रक्षेपण सहितको कार्ययोजना तयार भएको उहाँले जानकारी दिनुभयो ।
कार्ययोजनामा विद्युत् खरिद सम्झौता सम्पन्न भएका आयोजनाबाट पाँच हजार आठ सय ७३ मेगावाट, विद्युत् खरिदको प्रक्रियामा रहेका आयोजनाबाट तीन हजार दुई सय पाँच मेगावाट, कनेक्सन एग्रिमेन्ट सम्पन्न आयोजनाबाट तीन हजार एक सय आठ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ ।
त्यसैगरी कनेक्सन एग्रिमेन्टको प्रक्रियामा रहेका आयोजनाबाट पाँच हजार छ सय ४८ मेगावाट तथा नेपाल सरकार एवं सरकारी स्वामित्वका कम्पनीबाट अध्ययन सम्पन्न भएका ठुला प्रकृतिका तथा विद्युत् खरिद सम्झौताको प्रक्रियामा हालसम्म सहभागी नभएका आयोजनाबाट चार हजार चार सय ३१ मेगावाट र भारतीय कम्पनीबाट प्रवर्द्धन भइरहेका आयोजनाबाट तीन हजार छ सय ७९ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
आगामी १० वर्षमा भारतसँग १० हजार मेगावाट विद्युत् व्यापारका लागि आवश्यक उच्च भोल्टेज स्तरका विभिन्न अन्तर्देशीय विद्युत् प्रसारण लाइन विकासका क्रममा रहेको उहाँले बताउनुभयो ।