परराष्ट्रमन्त्री राणाद्वारा भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता – Nepalboli

परराष्ट्रमन्त्री राणाद्वारा भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता

   २०८१ भाद्र ४, मंगलवार  

भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको जानकारी उहाँको सचिवालयले दिएको छ ।

प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार,भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र दुई देशबिचको पारस्परिक लाभकारी सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।

परराष्ट्रमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा गर्नु भएको पत्र हस्तान्तरण गर्नु भएको छ । यसअघि राणा र भारतका विदेशमन्त्री डा एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता भएको थियो । दुवै मन्त्रीले व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायतका नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नु भएको थियो ।

दुवै पक्ष नियमित द्विपक्षीय संयन्त्र लगायत विभिन्न तहमा संलग्नतालाई निरन्तरता दिन सहमत भएका छन् ।

भारतका विदेशमन्त्री डा जयशंकरले नेपालका विदेशमन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गर्नुभयो । यो भ्रमण दुई मित्रवत् छिमेकीहरूबिचको उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको निरन्तरता हो।

मन्त्री डा राणाले सोमबार नै भारतीय समकक्षी विदेशमन्त्री एस। जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको थियो । सोमबार दिउँसो उहाँहरूबिच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यका बारेमा छलफल भएको थियो ।

भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मन्त्री डा। राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कनुहुनेछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै