टीआरसी विधेयक संसद‍्मा पेस, चालु अधिवेशनबाट पारित हुन्छ- प्रधानमन्त्री – Nepalboli

टीआरसी विधेयक संसद‍्मा पेस, चालु अधिवेशनबाट पारित हुन्छ- प्रधानमन्त्री

   २०८१ श्रावण २९, मंगलवार  

संक्रणकालिन न्याय (टीआरसी) सम्बन्धी कार्य पुरा गर्न भन्दै सरकारले ल्याएको ऐन संशोधन विधेयक प्रतिनिधि सभामा पेस भएको छ । कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ पेस गरेकी हुन् ।

विधेयक पेस गर्दै सभापति सुवेदीले तत्कालीन समयको सत्य बाहिर ल्याउन र अपराधमा संलग्नहरुलाई कानुनी कारबाहीका लागि सिफारिस गर्न यो विधेयक निर्माण भएको दाबी गरिन् ।

विधेयकमा अव बुधबार सैद्धान्तिक छलफल हुने छ । सैद्धान्तिक छलफलपछि उक्त विधेयकलाई पारित गर्ने प्रक्रिया सुरु हुने छ । समितिले दिएको प्रतिवेदनमा आधारित हुँदै संसदमा सांसदहरूले आफ्नो कुरा राख्ने छन् । संसदमा सरकारले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछ । यसपछि विधेयक संघीय संसद्को तल्लो सदनबाट पारित हुने छ। तल्लो सदनबाट पारित भएको विधेयकलाई माथिल्लो सदन राष्ट्रिय सभामा पेस हुने छ । राष्ट्रिय सभाले पनि प्रक्रियागत रूपमा छलफल गर्दै पारित गर्ने छ । दलहरूका बिचमा सहमति भएर विधेयक अघि बढेकाले यसलाई समितिमा पठाइने छैन । राष्ट्रिय सभाबाट पारित भएपछि यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पेस गरिने छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो विधेयक कानुनको रूपमा लागू हुने छ ।

चालु अधिवेशनबाट पारित हुन्छ- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय (टिआरसी) विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुने बताउनुभएको छ । मंगलबार महान्यायाधीवक्ताको कार्यालयमा आयोजित कार्यक्रममा सरकारी वकिललाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

प्रतिनिधि सभामा पेस गरिएको सो विधेयकबारे बुधबार राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची तय भएको छ।प्रधानमन्त्री ओलीले नेताले आफ्नो धारणा राखेपछि दुई दिन भित्र सो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताउनुभयो।

उहाँले विधेयक संसदबाट पारित हुनुलाई ठुलो उपलब्धिको रूपमा लिनुपर्ने बताउनुभयो।प्रधानमन्त्री सो विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको दाबी समेत गर्नुभयो।उहाँले सो विधेयकबारे अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो राखेको र त्यसलाई सफलताका साथ अघि बढाउने बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै