भारतीय सहयोगमा निर्माण भएको धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन – Nepalboli

भारतीय सहयोगमा निर्माण भएको धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन

   २०८१ श्रावण २३, बुधबार  

भारत सरकारको ४.२६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवनको आज उद्धघाटन गरिएको छ । नेपा स्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले उक्त वार्ड भवनको उद्घाटन गरेका हुन । उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस परयोजनाको कार्यान्वयन धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोकमार्फत गरिएको थियो ।

कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो । नवनिर्मित वार्ड भवनले नेपाली जनतालाई स्वास्थ्य सेवामा गुणस्तरिय पूर्वाधार र राम्रो वातावरण उपलब्ध गराउन मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये काभ्रेपलाञ्चोक जिल्लाका ७ वटा परियोजनासहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा १०६ वटा परियोजनाहरु रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

त्यसमध्ये काभ्रेपलाञ्चोक जिल्लालाई प्रदान गरिएको ८ वटा स्कुल बस र १६ वटा एम्बुलेन्ससहित बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ जसमा भारत सरकारले सन् २०२१ जनवरीमा यस अस्पतालका लागि एउटा एम्बुलेन्स (एड्भान्स लाइफ सपोर्ट) उपहारस्वरुप प्रदान गरेको थियो । यस एम्बुलेन्सले स्वास्थोपचारमा पहिलो सेवा दिदै आकस्मिक स्वास्थ्य सेवाको लागि महत्वपूर्ण योगदान पुऱ्याइरहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै