यो समीकरण भागबण्डा र नियुक्तिका लागि भएको होइन- प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवा प्रवाह र निराशा चिर्नका लागि दुई ठुला दलबिच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा र मन्त्रीसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले सङ्घीयतासँगै प्रदेशको औचित्य र जनताको विकासको चाहनालाई पूरा गर्ने अभिभाराप्रति ध्यान दिन आग्रह गर्नुभयो।
“देशको विषम् परिस्थितिलाई आत्मसात् गरी नेपाली कांग्रेस र नेकपा ९एमाले०बिच समीकरण भएको हो। यो समीकरण भागबण्डा र नियुक्तिका लागि भएको होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशमा राणा शासन र पञ्चायतको अन्त्यदेखि सशस्त्र सङ्घर्षको सही व्यवस्थापन, गणतन्त्र र सङ्घीयताका लागि यी दुई ठूला दल मिलेरै देशको संकट समाधान भएको छ। आर्थिकलगायत देशको विषम परिस्थितिका निम्ति अहिले विशेष संकल्पसहित हाम्रो सहकार्य भएको हो।’’
उहाँले विभिन्न क्षेत्रमा देखिएको विषमतालाई अन्त्य गर्न र जनताको समृद्धि र सुख प्राप्तिको लागि सरकार गठन भएकाले प्रदेश सरकारले यसमा ध्यान दिने अपेक्षा व्यक्त गर्नुभयो।
जनताको दुख, विकासको अवस्था, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, पूर्वाधार विकास, रोजगारी, सुशासनको प्रत्याभूति कायम गराउन दत्तचित्त भएर लाग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सार्वजनिक खर्चलाई मितव्ययी र चुस्त दुरूस्त व्यवस्थापन गर्ने, राजस्व वृद्धि र सार्वजनिक सम्पत्तिको सही सदुपयोग गर्ने विषयमा पनि ध्यान दिन सम्झाउनुभयो।