स्वास्थ्यमन्त्रीको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी सुरु – Nepalboli

स्वास्थ्यमन्त्रीको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी सुरु

   २०८१ श्रावण २०, आईतवार  

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी र क्युआर प्रणाली सुरु भएको छ।  भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिएको निर्देशन अनुसार उक्त सेवा सुरु भएको हो।

त्यस्तै अस्पतालले साउनको पहिलो साताबाट टोकन प्रणालीबाट सेवा, अनलाइन अपोइटमेन्ट,शल्यक्रिया कक्ष बढाएर ५ बनाएको छ। अस्पतालमा ३ वटा मात्रै शल्यक्रियाका कक्ष हुँदा शल्यक्रियाका लागि १ महिनासम्म कुर्नुपर्ने अवस्था रहेकोमा आगामी दिनमा त्यस्तो अवस्थाको अन्त्य हुने निर्देशक चालिसे बताउँछन्। प्राय जसो सधै भीड हुने अस्पतालको रेडियोथेरापी सेवालाई सहज बनाउनका लागि रेडियोथेरापी मेसिन थपिएको छ। योसँगै रेडियोथेरापी सेवाका लागि महिनौं कुर्नुपर्ने अवस्था अन्त्य भएको डा चालिसेको दाबी छ।

एक मात्रै १६ स्लाईको सिटीस्क्यान मेसिन रहेकोमा नयाँ सिटीस्क्यान जडान गरिसँगै सेवाका लागि दुई सातासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ‘सकेसम्म बिरामीले एक साताभित्रै सबै सेवा दिनेगरी हामीले काम सुरु गरेका छौं’ डा चालिसेले भने।

के निर्देशन दिएका थिए स्वास्थ्यमन्त्री पौडेलले-
मन्त्री पौडेलले दिएको निर्देशनको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्नुपर्ने उल्लेख थियो।

यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न भनिएको थियो।

चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्ने, अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपिडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमवाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बिमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्नका लागि निर्देशन दिइएको थियो।

यस्तै, अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने),विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने, सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन पनि भनिएको थियो।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै