अन्तर्राष्ट्रिय समितिद्धारा आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन – Nepalboli

अन्तर्राष्ट्रिय समितिद्धारा आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन

   २०८१ श्रावण १०, बिहीबार  

संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले योसहित ५ वटा निर्देशन दिएको हो ।

नेपालको हवाई सुरक्षा, आईकाओको रिपोर्ट, कोरियन एयरलाइन्सको एकाधिकार तथा पोखरा र भैरहवा विमानस्थलको सञ्चालनको सन्दर्भमा भएको छलफलमा सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई एक हप्ताभित्र आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिएका छन् । अन्य मुद्दामा दिएको निर्देशन भने अर्को बैठकमा उपस्थित हुँदा लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिए ।

बैठकमा आईकाओको सन् २०२२ को रिपोर्ट एक हप्ताभित्र समितिमा बुझाउन निर्देशन दिँदै उनले प्राधिकरण टुक्र्याउने विधेयक कहाँ कस्तो अवस्थामा छ जानकारी उपलब्ध गराउन समेत निर्देशन दिएका छन् । त्यस्तै कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प अरु हुन सक्छ कि सक्दैन भन्ने विषयमा समेत छलफल भएको छ ।

बैठकमा नेपालका एयरलाइन्सले बिजनेस किन नपाउने भन्ने प्रश्न समेत समितिले राखेको छ भने यति एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन निर्देशन दिएको छ । बैठकमा ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा ककसको चलखेल भएको हो स्पष्ट तथ्य पेश गर्न समेत समितिले निर्देशन दिएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै