युवालाई साथ लिएर अघि बढ्नुपर्छ- सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवालाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा बिहीवार युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसारका विभिन्न राष्ट्रमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवाको भूमिका अतुलनीय रहेको स्पष्ट पार्नुभयो ।
देशमा रहेका युवा शक्तिलाई ठिक ढङ्गले प्रयोग गर्नुपर्ने बताउँदै उहाँले चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदल्न सक्ने युवा शक्तिको आवश्यकता रहेको औँल्याउनुभयो । गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा दायित्व बोकेको बताउँदै सभामुख घिमिरेले अपेक्षाकृत रूपमा सरकारले काम भने गर्न नसकेको स्वीकार गर्नुभयो ।
उहाँले प्रसङ्ग जोड्दै सङ्घीयताका कारण आर्थिक भार बढेको भन्ने नकारात्मक टिकाटिप्पणी भइरहेको सन्दर्भमा सरकारमा भएको परिवर्तनले संविधान संशोधन गरेर राष्ट्रलाई अघि लैजाने विषय उठेको बताउनुभयो ।