पोखरा विमानस्थलको भ्रष्टाचार प्रकरण वारेमा जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनमा भएको ढिलाइ र निर्माणमा भएको भ्रष्टाचारको बिषयलाई समेटेर राष्ट्रिय एकता अभियानले कास्की प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन । अभियानका कास्की उपाध्यक्ष टिका कुमारी छिरिंगले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन् । जसमा विमानस्थलको निर्माणमा भएको भ्रष्टाचार र प्रविधिक त्रुटिहरूलाई लिएर चिन्ता व्यक्त गरिएको छ।
ज्ञापन पत्रमा विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण रुपमा सञ्चालनमा नआउँदा पोखराबासीमा निराशा र आक्रोश बढेको उल्लेख छ। साथै उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि ठेकेदार कम्पनीहरूसँग मिलेर कमिशनको लागि प्रविधिक त्रुटिहरूलाई बेवास्ता गरेको आरोप लगाइएको छ।
संसदीय छानवीन उपसमितिले सार्वजनिक सुनुवाइका क्रममा प्रदीप अधिकारी कार्यक्रममा उठेर भागेको घटनाले पोखराबासीलाई अपमानित गरेको र उहाँको असक्षमता प्रकट गरेको बताइएको छ। विमानस्थल निर्माणका क्रममा भएका प्रविधिक त्रुटिहरू, सुरक्षा मापदण्डहरूको अवमूल्यन, र ठेकेदार कम्पनीहरूसँगको मिलीभगतले विमानस्थलको गुणस्तरमा कमी आएको उल्लेख छ।
ज्ञापन पत्रमा पोखराबासीको तर्फबाट निम्न मागहरू राखिएका छन-
१, महानिर्देशक प्रदीप अधिकारीलाई तुरुन्त बर्खास्त गरियोस्
२, निर्माणमा भएका सम्पूर्ण प्रविधिक त्रुटिहरूको जिम्मा अधिकारीले लिनु पर्नेछ
३, छानवीन प्रक्रिया सम्पन्न नभएसम्म अधिकारीलाई पदमा बस्न नदिइयोस्
४, एक स्वतन्त्र अनुसन्धान टोली गठन गरियोस्
५, प्राधिकरणले स्पष्ट कार्य योजना तयार पारोस्
६, विमानस्थलको प्रभावकारी सञ्चालनका लागि आवश्यक स्रोत र प्रविधिको व्यवस्था गरियोस्
ज्ञापन पत्रमा टिका कुमारी छिरिंगको नेतृत्वमा भएको प्रतिनिधिमण्डलमा ध्रुवराज चालिसे, विष्णु प्रसाद तिवारी, चित्र कुमारी गुरुङ, इन्द्र गुरुङ, नारायण गिरी, र रामेश्वर अधिकारी उपस्थित थिए। पोखराबासीले ज्ञापन पत्रलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न प्रधानमन्त्रीसंग आग्रह गरेका छन्।