विमान दुर्घटना- बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने, पाँच सदस्यीय आयोग गठन
सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
उहाँका अनुसार सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल रहनुभएको छ । समितिलाई ४५ दिन भित्र आफनो प्रतिवेदन सरकार समकक्ष पेश गर्न भनेको छ ।
त्यस्तै शोकका लागि साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सरकारले २०८१ साल साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनाबाट नेपाल सरकार स्तब्ध भएको बताउँदै उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको र दिवङ्गत हुने व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकार समवेदना प्रकट गरेको छ ।
साथै दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन मनीष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना सरकारले गरेको छ । मन्त्री गुरुङले भन्नुभयो, ‘‘२०८१ साल साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनाबाट नेपाल सरकार स्तब्ध भएको छ । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।