नकुहिने फोहोर कार्यालय परिसरमै व्यवस्थापन – Nepalboli

नकुहिने फोहोर कार्यालय परिसरमै व्यवस्थापन

   २०८१ श्रावण ९, बुधबार  

तनहुँको व्यास नगरपालिकाले जग्गा व्यवस्थापन नहुँदासम्म नकुहिने फोहोर कार्यालय परिसरमै व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले अर्को स्थानको व्यवस्था नभएसम्म कार्यालय परिसरमा फोहोर व्यवस्थापन गर्न लागेको हो । नकुहिने र पुनः प्रयोगमा ल्याउन सकिने सामग्री व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रियामा रहेकाले त्यसको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म कार्यालय परिसरमा राखेर व्यवस्थापन गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन नहुँदा दमौली बजार क्षेत्रसँगै विभिन्न स्थानबाट साउन १ गतेदेखि उठाउन नसकिएको फोहोर सङ्कलन गर्न थालिएको छ ।

उहाँले भन्नुभयो, “नगरपालिकाले फोहर उठाउनुभन्दा यहीँ खाली ठाउँ रहेकाले कार्यालय परिसरबाट व्यवस्थापन गर्ने निर्णय गरेका छौँ ।” नगरपालिकाले फोहोर उठाउन नसकेपछि अधिकांश चोकमा फोहोर थुप्रिँदा दुर्गन्धित र कुरुप हुने गरेकाले अहिले उठाएर व्यवस्थापन गरिरहेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । नगरपालिकाले यसअघि व्यास नगरपालिका-३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहोर व्यवस्थापन गर्दै आएकामा सम्झौता अवधि सकिएपछि फोहोर व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ ।

नगरपालिकाको भत्काइएको पुरानो सभाहलमा नकुहिने फोहोर राखेर वर्गीकरण गरी बिक्री वितरण गर्ने योजना बनाएको व्यासका प्रवक्ता एवम् व्यास-६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार फोहोरमैला व्यवस्थापनका लागि व्यास-१३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढिसकेको छ । उहाँले भन्नुभयो, “जग्गा दिँदा फोहोरमैलाले दुर्गन्ध हुन्छ भन्ने जनमानसको भ्रम र त्रासलाई चिर्न नगरपालिकाले उदाहरणीय किसिमले काम थालनी गरेको हो ।” व्यास नगरपालिकामा नकुहिने करिब दैनिक पाँच टन र कुहिने तीन टन फोहोर सङ्कलन हुने गरेको छ । नगरप्रमुख न्यौपानेले भन्नुभयो, “कुहिने फोहोरलाई व्यास-१० दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गर्दै आएका छौँ । नकुहिने फोहोर व्यवस्थापनमा समस्या भएको हो ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै