विमान दुर्घटनाका शवहरूको सनाखत हुँदै, मर्मत गर्ने इन्जिनियरकै मृत्यु
दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार आएर शवको सनाखत भएपछि मात्रै पोस्टमार्टम गरिने छ । त्रिवि अस्पतालमा अहिले दुर्घटनामा परेका परिवारजनको भिड लागेको छ । शव पहिचानको कार्य जारी रहेको अस्पताल स्रोतले जनाएको छ ।दुईवटा शवको पहिचान गर्न सकिने अवस्थामा छन् बाँकीको शव जलेर चिन्न नसकिने अवस्थामा छ । यात्रुमध्ये एकजना महिला, एक १० वर्षीय बालक, एक विदेशी र अन्य पुरुष छन् ।
ग्राउण्डेड रहेको जहाजलाई मर्मतका लागि पोखरा लगेर मर्मत गर्ने क्रममा इन्जिनियर यज्ञप्रसाद पौडेल पनि सोही जहाजमा जाँदै हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा जहाज मर्मत गर्ने योजना रहेको थियो, एयरलाइन्सका एक कर्मचारीले बताए । सो जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जानका लागि उड्ने क्रममा आगो लागेको थियो । जहाज उड्ने क्रममा रनवे छेउमा रहेको कन्टेनरमा ठोक्किएको र दुई टुक्रा भएको थियो ।