स्वास्थ्य मन्त्री पौडेलले भने- काम गर्न कहाँ समस्या छ, पाँच दिनभित्र समाधानको खाका ल्याउनू
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन भनेका छन्। मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरूसँगको ब्रिफिङ सहितको भेटघाटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजना सहितको खाका तयार गर्न भनेका हुन्।
‘सबै महाशाखाबाट समस्याका कुराहरू आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिनभित्र लिखित रूपमा समाधानका विकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौं,’ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने।
उनने स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नै पर्ने बताए।
‘स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय हामी नै हो, मन्त्रालयको मेकानिजमभित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ, प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ,’ मन्त्री पौडेलले भने।
पौडेलले जनतामा कसरी नतिजा दिन सकिन्छ भनेर लिखित योजना बनाउन आग्रह गर्दै भने,‘हामीले नतिजा कसरी दिन सक्छौं, त्यता केन्द्रित हुनुपर्छ, राज्यको लगानी जति हो, त्यति प्रतिफल हामीले प्राप्त गर्न सकेका छैनौं, आफूले गरेको कामबाट प्रभावकारिता कसरी बढाउने भन्नेमा हामी सबै लागौं।’
मन्त्री पौडेलले कानुनको छाताभन्दा बाहिर कोही नहुने समेत बताए।