मनसुनजन्य विपद्‌बाट १६३ वटा राष्ट्रिय राजमार्ग प्रभावित – Nepalboli

मनसुनजन्य विपद्‌बाट १६३ वटा राष्ट्रिय राजमार्ग प्रभावित

   २०८१ श्रावण २, बुधबार  

बाढी-पहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ। सडक विभागको तथ्याङ्कअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् भने एक सय ४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। यस्तै राष्ट्रिय राजमार्गमा पर्ने ६ वटा पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आगामी शुक्रबारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै माहाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै