भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री ले दिए समकक्षी ओली र आरजुलाई बधाई
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिएका छन् । सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका हुन् ।
‘बधाई छ केपी शर्मा ओलीज्यू, नेपालको प्रधानमन्त्रीको रुपमा तपाईको नियुक्तिमा । हाम्रा दुई देशबिचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र हाम्रा जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिकबाट काम गर्न तत्पर छौँ,’ मोदीले लेखेका छन् ।
त्यस्तै नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय समकक्षीले बधाई दिएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले राणालाई सामाजिक सञ्जाल एक्समार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
उनले परराष्ट्रमन्त्रीको रुपमा राणासँग बहुआयामिक साझेदारीका थप बढाउन मिलेर काम गर्न उत्सुक रहेको पनि बताएका छन् । राणा सोमबार परराष्ट्र मन्त्रीमा नियुक्त भएकी थिइन् ।