प्रधानमन्त्री ओलीद्वारा सपथ तथा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ। सोमबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो। प्रधानमन्त्रीसहित सबै मन्त्रीले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो ।
यसैगरी, नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने पौडेल अर्थमन्त्री बन्नुभएको छ । वरीयतामा सिंह अगाडि रहनुभएको छ ।
सोही समारोहमा नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारी, परराष्ट्रमन्त्री डा। आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
सपथ लगत्तै प्रधानमन्त्री सहित उपप्रधानमन्त्रीहरु र मन्त्रीहरु कार्यभार सम्हालेका छन ।
