धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। राष्ट्रपतिले प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टाको समय दिएका छन्।
राष्ट्रपतिले आईतवार साझ ५ बजे सम्ममा प्रधानमन्त्रीको दाबी पेश गर्न भनेको छ ।
संसद्को दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ। कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन्।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेस, एमाले लगायतका दलले तयारी गरेका छन्।