प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादीको ह्वीप
नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ । बुधवार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन निर्देशन (ह्वीप) दिने गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरूलाई अपिल गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा वामपन्थी शक्तिहरूको बिचमा एकता र समाजवादी मोर्चालाई पनि अगाडि बढाउने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुभएको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘‘हामी २८ गते विश्वासको मत संविधानका व्यवस्था अनुसार लिने । विश्वासको मतका लागि हाम्रो दलको तर्फबाट ह्वीप जारी गर्ने सँगसँगै संविधान कार्यान्वयनका लागि, संविधान रक्षाका लागि र नेपाली जनताको लागि हित चाहने प्रतिनिधिसभाका सबै राजनीतिक दल, स्वतन्त्र माननीय सदस्यहरूलाई पनि विश्वासको मतको पक्षमा मत दिन अपिल गर्ने, आह्वान गर्ने, कुराकानी गर्ने भन्ने निर्णय भएको छ ।