राप्रपा नेता श्रेष्ठमाथि कुटपिट गर्ने तीन जना निलम्बन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनालाई पार्टीबाट निलम्बन गरेका छन्।
गत फागुन २७ गते पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी भएको समयमा कार्यालय हाताभित्रै श्रेष्ठमाथि कुटपिट भएको थियो।
घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले सिफारिस गरेपछि अध्यक्ष लिङ्देनले पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौँ–४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई ४ वर्षका लागि निलम्बन गरेका राप्रपाका एक पदाधिकारीले देशसञ्चारलाइ जानकारी दिए।
केन्द्रीय कार्यसम्पादन समितिमा उपाध्यक्ष विक्रम पाण्डे र श्रेष्ठबीच विवाद भएको थियो।
सोही विवादको विषयलाई लिएर पाण्डेका पीएसमेत रहेका सहायक महामन्त्री बलायरले पनि श्रेष्ठमाथि कुटपिट गरेका पार्टी कार्यालयमा प्रत्यक्षदर्शी नेताहरुले बताएका थिए।