माओवादी उपाध्यक्ष तथा पुर्व सभामुख कृष्णबहादुर महरा पक्राउ – Nepalboli

माओवादी उपाध्यक्ष तथा पुर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

   २०८० चैत्र ५, सोमबार  

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए। उनलाई काठमाडौं ल्याइँदैछ।

सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो।

यसअघि महरासँग आयोगले बयानसमेत लिएको थियो। उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत् भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

महरालाई आजै जिल्ला अदालत पेस गर्ने प्रहरीको तयारी छ। सुन तस्करी सम्बन्धी छानबिन आयोगको सिफारिसका आधारमा अनुसन्धान गरी पुरक अभियोगपत्र दायर गर्नका लागि महरालाई पक्राउ गरिएको हो।

भेपमार्फत् भएको सुन तस्करीमा महराले चिनियाँ नागरिकसँग पटक–पटक कुरा गरेका थिए। कुराकानी गरेको उनले पनि अघिल्लो अभियोगपत्रमा स्वीकार गरेका थिए। तर तत्कालीन समयमा उनलाई प्रतिवादी बनाइएन।

उनका छोरा राहुल महरा भने प्रतिवादी हुँदै थुनामा गएका थिए। अब महराविरुद्ध पनि जिल्ला अदालतमा सुन तस्करीको मुद्दा दायर हुने छ। जिल्लाले थुनछेकपछि धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने निर्णय लिने छ।

अहिले उनी पक्राउ मात्र परेको र बयान तथा थप अनुसन्धानपछि पुरक अभियोगपत्र दायर हुने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै