राष्ट्रिय सभाको सदस्यले प्रधानमन्त्री दाबी प्रस्तुत गर्न पाउनुपर्छ
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ। बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले राष्ट्रिय सभा सदस्य प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राख्नुभएको हो।
उहाँले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभा सभामुखबाहेक अरु कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रिय सभा सदस्यको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने उल्लेख गर्नुभयो।
उहाँले दुवै सभाबाट उत्पत्ति हुने विधेयक पारित गर्ने अधिकार प्रतिनिधि सभालाई नभइ संघीय संसदको संयुक्त बैठकलाई हुनुपर्ने बताउनुभयो। उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्ने बताउनुभयो। उहाँले संघीय संसदमा संयुक्त बैठकको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रपतिको निर्वाचन संघीय संसदको संयुक्त बैठकले गर्नुपर्ने बताउनुभयो।
उहाँले प्रतिनिधि सभा नियमावली बमोजिम चल्न नसकेको जिकिर गर्नुभयो। उहाँले राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा सञ्चालनमा कार्यकुशलता देखाएको भन्दै प्रशंसा गर्नुभयो।