प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै – Nepalboli

प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

   २०८० फाल्गुन ३०, बुधबार  

प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै हुनुहुन्छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने, उक्त प्रस्तावमाथि छलफलपश्चात् निर्माणार्थ प्रस्तुत गरिने र आव २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नाउपालगायत दलले समर्थन गर्न ह्वीप जारी गरेका छन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वास पाउन बहुमतका लागि १३८ मत आवश्यक पर्छ । नेकपा एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २१, जसपा १२, एकीकृत समाजवादी १०, नाउपा ४, आजपा १ र स्वतन्त्र दुई सांसद (अमरेस कुमार सिंह र योगेन्द्र मण्डल) प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छन् । यी सबैको मत जोड्दा १५८ मत पुग्छ ।

पछिल्लो सत्ता समीकरण फेरिएसँगै गत बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा १५७ सांसद सत्ता पक्षको बेन्चमा थिए ।

यसैगरी विपक्षमा नेपाली कांग्रेसका ८७, राप्रपाका १४, जनमतका ६, लोसपाका ४ र नेमकिपाका १ सांसद छन् । यी सबैको मत जोड्दा ११२ मत हुन्छ । १ सांसद रहेको जनमोर्चा तटस्थ बस्ने सम्भावना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै