भारतद्वारा डोटी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेपाली २.८९ करोड आर्थिक सहयोगमा नेपालको डोटी जिल्लाको बडीकेदार गाउँपालिकास्थित श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको लागि भवन निर्माणको आज शिलान्यास गरिएको छ । बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउद र काठमाडौं स्थित भारतीय राजदूतावासका द्वितीय सचिव श्री प्रशान्त कुमार सोनाले भवन निर्माणको शिलान्यास संयुक्त रुपमा गर्नुभयो । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विभिन्न सुविधाहरुसहितको दुई तल्ले क्याम्पस भवनको निर्माणका लागि उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो र बडीकेदार गाउँपालिका, डोटीमार्फत कार्यान्वयन गरिएको हो ।
कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो । यस क्याम्पसको भवन निर्माण सम्पन्न भएपछि यस नयाँ पूर्वाधारले श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न मद्दत गर्नुका साथै यस क्षेत्रमा शिक्षाको विकासमा योगदान पुर्याई सिकाइका लागि राम्रो वातारण सिर्जना गर्नेछ ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा भारतीय सहयोगमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा ४ वटा परियोजना डोटीमा छन् ।
यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस डोटी जिल्लालाई उपलब्ध गराइएको छ ।
