Page 189 – Nepalboli

जागरण अभियानको तयारीमा जुट्न प्रचण्डको निर्देशन

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई-मधेश जागरण अभियानको तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन्। माओवादी केन्द्र मधेश प्रदेशमा कार्यरत केन्द्रीय तहका सदस्यहरूसँग सोमबार महोत्तरीमा भएको बैठकमा प्रचण्डले पार्टीलाई जनतासँग जोड्ने गरी अभियानको तयारीमा लाग्न निर्देशन दिएका हुन्। १२ फागुनदेखि सुरु हुने अभियान सफल हुँदा मधेशमा राम्रो जनाधार बन्ने भन्दै उनले झापाबाट सुरु गरेर कन्चनपुरमा हुलाकी मार्गकेन्द्रित अभियान सकेपछि पहाड र हिमाली क्षेत्रलाई केन्द्रित गरेर मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम् जागरण अभियान सञ्चालन गरिने जानकारी दिए।

तीनवटै अभियान सकिएपछि काठमाडौंमा देशभरिको पहिचान झल्कने गरी भव्य प्रदर्शन र सभाको आयोजना गरिने पनि उनले बताए।

उनले अभियानपछि केन्द्रीय समिति बैठक बस्ने र महाधिवेशनको तयारीमा लाग्ने बताए। अब सबै नेतृत्व चुनावबाटै आउने भन्दै उनले सबैलाई कार्यकर्ता र जनतासँग जोडिएर काम गर्न पनि निर्देशन दिए।

 

प्रधानमन्त्रीबाट ओलीलाई पदमुक्त माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता

गिरीबन्धु टी इस्टेट प्रकरणमा सर्वोच्च अदालतको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ। सर्वोच्चको फैसला कार्यान्वयन गर्नुको साटो ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेका हुन्।

अधिवक्ता अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका कानूनी सल्लाहकारसमेत हुन्। प्रधानमन्त्री ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई विपक्षी बनाइएको सर्वोच्च अदालतका प्रवक्ता सह-रजिष्ट्राचार अच्युत कुइँकेलले जानकारी दिए।

उनका अनुसार सर्वोच्च प्रशासनले उक्त रिट निवेदन दर्ता गरी फागुन ४ गतेका लागि पेसी तोकेको छ। अधिवक्ता अर्यालले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट अघिल्लो वर्ष माघ २४ मा जारी भएको परमादेशको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले निरन्तर अवरोध सिर्जना गरेको मुद्दामा उल्लेख गरेका छन्।

अदालतको अवहेलनामा संलग्न कसुरदार प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दै उनले फैसला कार्यान्वयन गर्नुको साटो प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी अध्यादेश ल्याएको दाबी गरेका छन्।

 

 

सङ्कट टार्न कांग्रेससँग सहकार्य- वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र सङ्कटमा पर्दै गएपछि नेपाली कांग्रेससँग सहकार्य गर्नुपरेको बताउनुभएको छ । सर्लाही सदरमुकाम मलङ्गवामा सोमबार एमालेको वडा केन्द्रित तीन महिने अभियान सम्वन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले कांग्रेससँग सहमती र प्रतिस्पर्धाको दुवै पाटोलाई बुुझ्नुुपर्ने बताउनुुभयो ।

राष्ट्रिय सङ्कट आउँदा सहकार्य र सामान्य अवस्थामा कांग्रेससँग प्रतिस्पर्धा नै हुने पोखरेलको भनाइ छ । सरकार बन्न नै सङ्कट, विकास ठप्प र विदेशी हस्तक्षेप बढेपछि ती सङ्कट समाधान गर्न कांग्रेससँग सहकार्य गरिएको वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अगुवा कार्यकर्तालाई प्रष्ट पार्नुभयो । उहाँले २०८४ को निर्वाचनमा बहुमत ल्याएर राष्ट्र बनाउने र देशलाई स्थिरता दिने एमालेको योजना रहेको सुनाउनुुभयो ।

पोखरेलले माओवादीप्रति लक्षित गर्दै फेरि म्याजिक नम्बरमा देश गए बर्बाद हुने बताउनुुभएको छ । एमालेलाई जरो तहसम्म मजबुद बनाउन वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गरिएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले उल्लेख गर्नुभएको छ ।

कार्यक्रमलाई पार्टीको सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, पार्टीका नेता एवं पूर्व मन्त्रीद्वय लीलानाथ श्रेष्ठ र हरिप्रसाद उप्रेती, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायतले सम्बोधन गर्दै अभियानलाई सफल बनाउन अगुवा नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

जनताका गुनासा तथा समस्या सुन्ने, समाधानका लागि पहल गर्ने र साथसाथै पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यसहित वडा केन्द्रीत तीन महिने अभियान सञ्चालन गर्न लागिएको एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले जानकारी दिनुुभयो । सर्लाहीमा २० पालिकाका दुई सय वटै वडामा यो अभियान सञ्चालन गरिने एमालेले जनाएको छ ।

 

छविलाल जोशीलाई थुनामा पठाउन आदेश

रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका जोशीलाई रुपन्देही जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको हो ।

जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए ।

म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले नयाँ बगैँचा विस्तार,अनुकूल मौसम र रोग कीराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन बढेको बताए ।

“गतवर्ष तीन हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार ७८१ मेट्रिकटन उत्पादन भएको छ’, उनले भने, ‘म्याग्दीका कृषकले यसवर्ष रु ३३ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन्।’

सरदर प्रतिकिलो रु ७० का दरले सुन्तला बिक्री भएको छ । यसवर्ष प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिकटनका दरले सुन्तला उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए । गत वर्ष प्रतिहेक्टर आठ दशमलव छ मेट्रिकटनका दरले सुन्तला उत्पादन भएको थियो ।

जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गतवर्ष रु २४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो ।

कृषि ज्ञान केन्द्रका प्राविधिकहरुले ‘क्रप कटिङ’ विधिबाट सुन्तलाको उत्पादनको अवस्थाको बारेमा उत्पादनको अवस्था पहिचान गरेका हुन् । उत्पादन दिने बोट थपिएको र मौसमले साथ दिएकाले सुन्तला उत्पादन बढेको मङ्गला गाउँपालिका–३ दहका कृष्णलाल सापकोटाले बताए ।

राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन् ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिन लगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगँैचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन्। यसवर्ष ४०० रोपनीमा सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन र थप ४० रोपनीमा खेती विस्तार गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

 

 

अनलाइन जुवा खेलाउने २३ जना पक्राउ

अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा २३ जना पक्राउ परेका छन्। भारत बिहार राज्य बाका घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

घरमा अनलाइन जुवा खेलाई रहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बूढा नीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई ८१ हजार रुपैयाँ, विभिन्न कम्पनीका ८८ थान मोबाइल र १० थान ल्यापटपसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यसअघि पनि ललितपुरको सानेपामा रहेको दुईवटा घर भाडामा लिएर ठगी गर्ने २४ जना पक्राउ परेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न आठवटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक थिए।

उक्त समूहले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेका हुन्। प्रहरीका अनुसार भारतमा बस्दै आएका एक व्यक्तिले ६ महिनाअघि उक्त दुईवटा घर भाडामा लिएका थिए।

माघ सकिनै लाग्दा न हिउँ न वर्षा

गण्डकी । यसपालीको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ । गाउँबस्ती र डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई पिरलो थपिएको बताउनुभयो । “हिउँ नपर्दा स्याउ खेतीमा असर पुग्छ, रोककिराको प्रकोप बढ्न सक्छ”, उहाँले भन्नुभयो, “मुस्ताङमा लगाइने उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बालीको उब्जाउ क्षमता पनि घट्छ ।”

मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने उहाँको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनको तीव्र असर हिमाली भेगमा परेको विभिन्न अध्ययनले देखाएको छ । मौसमी घटना र प्रवृत्तिमा यस्तै क्रम दोहोरीरहे हिमाली क्षेत्रमा नयाँ खेतीबालीको प्रवेश हुने र रैथाने उत्पादन लोप हुने खतरा रहेको बताइन्छ । पछिल्लो समय मुस्ताङको उपल्लो भेगमा समेत काँक्रा, गोलभेँडा जस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको किसान बताउँछन् ।

समयमा हिउँ र वर्षा नहुँदा खेतीबाली नसप्रने किसानको दुःखेसो छ । मुस्ताङमा हावा मात्र चल्ने हिउँ नपर्ने अवस्था देखिएको छ । गत वर्षको हिउँद पनि हिउँ र वर्षा नभई बितेको थियो । हिउँ नपर्दा सिँचाइ नभएका ठाउँमा अन्नपात माटोमै सुक्ने गरेको कृषि अधिकृत नेपालीले बताउनुभयो । घरपझोङ गाउँपालिका–२ मार्फाका स्याउ किसान दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने बताउनुभयो । स्याउको फूल खेल्न र फल लाग्न चिसोपनाको खाँचो पर्छ ।

“चिस्यान पुगेन भने स्याउ उत्पादनमा ह्रास आउन सक्छ”, उहाँले भन्नुभयो, “मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिहाल्नुपर्ने छैन ।” जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने सुक्खा मौसमले चिन्ता थपिदिएको उहाँको भनाइ छ । थासाङमा सिँचाइको उचित प्रबन्ध छैन । हिमपात र वर्षात् नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन पनि प्रभावित भएको छ ।

लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताउनुभयो । हिउँमा खुल्ने मुस्ताङ, मनाङ, म्याग्दीलगायत पर्यटकीयस्थल पनि उजाड देखिएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी जुलीले पुनले अहिलेसम्म हिउँ नपरेको बताउनुभयो । गण्डकी प्रदेशका कुनै हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन । छिटपुट वर्षासमेत हुन सकेको छैन । हिउँ र वर्षा नहुँदा मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको छ । बेलामा पानी नपर्दा, हिमपात नहुँदा असिञ्चित ठाउँको खेतीमा त क्षति नै पुग्ने गरेको छ ।

बाह्रैमास नहर र कूलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने कृषि अधिकृत नेपालीले बताउनुभयो । हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उहाँको भनाइ छ । खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने गरेको छ । हिउँ नपर्दा पर्यटक लोभ्याउने हिमाल पनि कालापत्थरजस्ता देखिन थालेका छन् ।

विश्वव्यापी रूपमा गहिरिँदो जलवायु सङ्कटको सबैभन्दा ठूलो मार नेपालका हिमालमा परेको सो क्षेत्रका विज्ञ र अध्येताहरू बताउँछन् । पर्यावरणीय अध्येता कुलचन्द्र अर्यालका अनुसार जलवायु सङ्कटको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र पर्छ । “विश्वको औषत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ”, उहाँ भन्नुहुन्छ, “विश्वको औषत तापमान १ दशमलब ५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १ दशमलब ८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ ।”

जलवायु परिर्वतन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पु¥याइरहेको पर्यावरणीय अध्यता अर्यालको भनाइ छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विष्फोटन हुने दर बढीरहेको उहाँले बताउनुभयो । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमाल कालापत्थरमा परिणत हुने बताइन्छ ।

विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड)को अध्ययनले देखाएको छ ।

डा बाबुराम भट्टराइद्वारा महाधिवेशनमा वैकल्पिक राजनीतिको रोडम्याप प्रस्तुत

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले काठमाडौँमा सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा वैकल्पिक राजनीतिकको रोडम्याप प्रस्तुत गरेका छन् । डा भट्टराईले प्रस्तुत गरेको ‘नयाँ युगको नयाँ कार्यभार- वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा आइतबार काठमाडौंमा सुरु भएको महाधिवेशनमा छलफल सुरु भएको छ ।

५ खण्डमा विभाजित दस्ताबेजमा नयाँ युगका नयाँ चुनौती र सम्भावना, नयाँ युगमा नेपालको अवस्था, नेपालमा वैकल्पिक राजनीतिका प्रमुख कार्यभार, वैकल्पिक पार्टीको संगठनात्मक सिद्धान्त, संरचना र आधारहरू, र पार्टीको तत्कालीन कार्य योजना उल्लेख छ ।

३२ पृष्ठ लामो दस्ताबेजको अन्तिम पृष्ठमा संयोजक भट्टराईले कार्यगत एकता र संयुक्त मोर्चाको प्रस्ताव अघि सारेका छन् ।

‘युगीन कार्यभार पूरा गर्ने वैकल्पिक राजनीतिक शक्तिको निर्माण एकै चोटि बनिबनाउ रूपमा वा रातारात हुँदैन । साथै वैकल्पिक शक्तिहरू विभिन्न रूपमा उदय हुन पनि सक्छन्’ उनले भनेका छन्, ‘लामो समयको निर्माण र विनिर्माण, संघर्ष र ध्रुवीकरणको चरण पार गरेर मात्र भरपर्दो र दिगो वैकल्पिक राजनीतिक शक्ति निर्माण हुन सक्छ ।’

उनले नेसपा (नयाँ शक्तिले) कुनै अहंकार र एकलकाँटे प्रवृत्ति नबोक्ने तर आधारभूत मूल्यमान्यता र विचारमा दृढ भएर वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्ने पहल गर्ने उल्लेख गरेका छन् ।

‘पुराना पतनशील र भ्रष्ट शक्तिहरूका विकल्पमा उदय भइरहेका विभिन्न नयाँ शक्ति र व्यक्तिहरूसँग संवाद, सहकार्य, कार्यगत एकता, संयुक्त मोर्चा गर्दै अन्ततः बृहत् वैकल्पिक शक्तिहरूको ध्रुवीकरणका निम्ति प्रयत्न तथा अगुवाइ गर्नुपर्छ,’ उनको प्रस्ताव छ ।

संकीर्णता, दलीय आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर नयाँ र वैकल्पिक पार्टी समूह एवं व्यक्तिहरूसँग संवाद र सहकार्यको व्यवस्थित पहल पार्टीको संवाद समितिले अघि बढाउने प्रस्ताव उनले दस्ताबेजमा गरेका छन् ।

भट्टराईले वैकल्पिक राजनीतिलाई यो युगको अपरिहार्य आवश्यकताका रूपमा उल्लेख गर्दै लेखेका छन्, ‘हामी आकस्मिकताले त्यसका वाहक हौँ । हामीले वैकल्पिक राजनीतिक शक्ति निर्माण नगरे वा गर्न नसके युगले अर्को पात्र जन्माउनेछ । तर संसार र नेपालको यो ऐतिहासिक घडीमा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको विकल्प छैन ।’

 

देउवाको दाबी- काँग्रेसभित्र बलियो एकता भए कुनै पनि शक्तिले परास्त गर्न सक्दैन

दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न नसक्ने बताएका छन् । काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले त्यसका लागि पार्टीभित्र बलियो एकता जरुरी रहेकाले एक ढिक्का हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

“हामी मिले कसैले हराउन सक्दैन, त्यसकारण पार्टीभित्र एकता हुन जरुरी छ । पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै निर्वाचनमा काँग्रेसलाई कसैले हराउन सक्दैन”, सभापति देउवाले भने,“पार्टीलाई बलियो बनाउन विकासका काममा समेत काँग्रेसका नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्न आवश्यक छ ।”

यसैगरी उनले दाङमा रहेको विमानस्थल स्तरवृद्धि अपरिहार्य रहेको भन्दै तुलसीपुरमा रहेको विमानस्थल स्तरवृद्धिका लागिसमेत विज्ञहरूसँग परामर्श तथा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । “दाङमा ठूला जहाज उडानका लागि यहाँको विमानस्थललाई विस्तार गर्न जरुरी छ । यो दाङको आवश्यकता हो । यसकार्यमा मैले पनि पहल गर्नेछु”, उनले भने ।

 

 

 

०४६ यताका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्न माग

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरादरबार प्रकरण छानबिन गर्न माग गरेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको तेस्रो पार्टी अधिवेशनको आइतबार उद्घाटन गर्दै पुनले यस्तो माग गरेका हुन् । आफूहरूबाट गल्ती भएको भए भोग्न तयार रहेको उनको भनाइ थियो ।

पुनले प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न उठेका गिरिबन्धु टी स्टेट, यति, ओम्नी, स्वीस बैंक र कम्बोडियामा लगानी प्रकरणबारे पनि छानबिन हुनुपर्ने औँल्याए ।

‘हाम्रो अध्यक्ष ‘प्रचण्ड’ले यदि मेरो पार्टी, मेरो कार्यकर्ता वा मैतिर पनि सुईहरू सोझिन्छन् भने अनुसन्धान गर्ने निकायलाई निर्देशन गर्नुभयो । नेपालको इतिहासमा सार्वजनिक रूपमा यस्तो अपिल गर्ने उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ’, उनले भने, ‘ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । शेरादरबार, क्यान्टोन मेन्टबारे छानबिन गर्नुहोस् । माओवादी नेतामाथि प्रश्न उठेका प्रकरणबारे छानबिन गर्नुस् । स्वीस बैंक, कम्बोडिया, गिरिबन्धु, यति र ओम्नीका विषयमा कुरा उठेका छन् । हाम्रो अध्यादेशले संसदमै जनताका तर्फबाट च्यालेन्ज गर्नुभएको छ । ओलीजीले आफूबारे उठेका प्रश्नहरूका बारेमा छानबिन गर्न तयार हुनुहुन्छ । हामी ज्यान हत्केलामा राखेर गणतन्त्रका लागि लडेका हौँ । अहिले पनि हामी जोखिम मोल्न तयार छौँ । हामी आफ्नाबारे केही उठ्छन् भने आफैँ शुद्धीकरण गर्न तयार छौँ । तपाईँहरू तयार हो कि होइन रु’

व्यवस्थाको सर्भिसिङ गर्ने क्रममा मुलुक विकासको ठूलो बाधकका रूपमा रहेको भ्रष्टाचार, राज्य दोहन र अनियमितता रोक्न कदम चालेका कारण बिचौलिया र स्वार्थ समूहले रातारात सरकार ढालेको उनले दोहर्‍याए । यद्यपि बिचौलियाहरूको खुसी अब धेरै दिन नटिक्ने उनको भनाइ थियो ।

नेता पुनले ०४६ यता प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, उच्च प्रशासक, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीलगायत सबैको सम्पत्ति नवीन गर्न शक्तिशाली छानबिन आयोग गठनको प्रस्ताव गरे । वर्तमान सरकारले विपक्षी दलका नेता र आफू निकटलाई छानबिन, अभियोजन र मुद्दा दर्तामा फरक मापदण्ड अपनाएको टिप्पणी उनले गरे ।

‘एमालेका मन्त्री मानव तस्करको खर्चमा उनीहरूको डिजाइनमा जापान जान्छन् । जापानले शंका गरेर पठाउँछ । उनीसँगै गएर ठगिएका युवालाई थुनिन्छ । लाने मन्त्रीमाथि कारबाही हुँदैन पोखराको सहकारीमा ऋण लिएका एमालेका सांसदलाई सरकारी साक्षी बनाइन्छ । विपक्षी दलका नेता मुद्दाको भागीदार हुन्छन् । काठमाडौँ को सहकारीमा काँग्रेसका सांसदमाथि प्रहरीले मुद्दा चलाउन सिफारिस गर्दा पनि सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गर्छन् । फरार भनिएकी लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नीलाई एकै दिनमा बयान, एकै दिन थुनछेक बहस, उही दिन धरौटीमा रिहा गरिन्छ । त्यस्तै मुद्दामा विपक्षी दलका नेतालाई देशभर घुमाइन्छ, हुर्मत लिइन्छ’, पुनले भने ।