देउवाको दाबी- काँग्रेसभित्र बलियो एकता भए कुनै पनि शक्तिले परास्त गर्न सक्दैन

दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न नसक्ने बताएका छन् । काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले त्यसका लागि पार्टीभित्र बलियो एकता जरुरी रहेकाले एक ढिक्का हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
“हामी मिले कसैले हराउन सक्दैन, त्यसकारण पार्टीभित्र एकता हुन जरुरी छ । पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै निर्वाचनमा काँग्रेसलाई कसैले हराउन सक्दैन”, सभापति देउवाले भने,“पार्टीलाई बलियो बनाउन विकासका काममा समेत काँग्रेसका नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्न आवश्यक छ ।”
यसैगरी उनले दाङमा रहेको विमानस्थल स्तरवृद्धि अपरिहार्य रहेको भन्दै तुलसीपुरमा रहेको विमानस्थल स्तरवृद्धिका लागिसमेत विज्ञहरूसँग परामर्श तथा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । “दाङमा ठूला जहाज उडानका लागि यहाँको विमानस्थललाई विस्तार गर्न जरुरी छ । यो दाङको आवश्यकता हो । यसकार्यमा मैले पनि पहल गर्नेछु”, उनले भने ।