डा बाबुराम भट्टराइद्वारा महाधिवेशनमा वैकल्पिक राजनीतिको रोडम्याप प्रस्तुत – Nepalboli

डा बाबुराम भट्टराइद्वारा महाधिवेशनमा वैकल्पिक राजनीतिको रोडम्याप प्रस्तुत

   २७ माघ २०८१, आईतवार  

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले काठमाडौँमा सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा वैकल्पिक राजनीतिकको रोडम्याप प्रस्तुत गरेका छन् । डा भट्टराईले प्रस्तुत गरेको ‘नयाँ युगको नयाँ कार्यभार- वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा आइतबार काठमाडौंमा सुरु भएको महाधिवेशनमा छलफल सुरु भएको छ ।

५ खण्डमा विभाजित दस्ताबेजमा नयाँ युगका नयाँ चुनौती र सम्भावना, नयाँ युगमा नेपालको अवस्था, नेपालमा वैकल्पिक राजनीतिका प्रमुख कार्यभार, वैकल्पिक पार्टीको संगठनात्मक सिद्धान्त, संरचना र आधारहरू, र पार्टीको तत्कालीन कार्य योजना उल्लेख छ ।

३२ पृष्ठ लामो दस्ताबेजको अन्तिम पृष्ठमा संयोजक भट्टराईले कार्यगत एकता र संयुक्त मोर्चाको प्रस्ताव अघि सारेका छन् ।

‘युगीन कार्यभार पूरा गर्ने वैकल्पिक राजनीतिक शक्तिको निर्माण एकै चोटि बनिबनाउ रूपमा वा रातारात हुँदैन । साथै वैकल्पिक शक्तिहरू विभिन्न रूपमा उदय हुन पनि सक्छन्’ उनले भनेका छन्, ‘लामो समयको निर्माण र विनिर्माण, संघर्ष र ध्रुवीकरणको चरण पार गरेर मात्र भरपर्दो र दिगो वैकल्पिक राजनीतिक शक्ति निर्माण हुन सक्छ ।’

उनले नेसपा (नयाँ शक्तिले) कुनै अहंकार र एकलकाँटे प्रवृत्ति नबोक्ने तर आधारभूत मूल्यमान्यता र विचारमा दृढ भएर वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्ने पहल गर्ने उल्लेख गरेका छन् ।

‘पुराना पतनशील र भ्रष्ट शक्तिहरूका विकल्पमा उदय भइरहेका विभिन्न नयाँ शक्ति र व्यक्तिहरूसँग संवाद, सहकार्य, कार्यगत एकता, संयुक्त मोर्चा गर्दै अन्ततः बृहत् वैकल्पिक शक्तिहरूको ध्रुवीकरणका निम्ति प्रयत्न तथा अगुवाइ गर्नुपर्छ,’ उनको प्रस्ताव छ ।

संकीर्णता, दलीय आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर नयाँ र वैकल्पिक पार्टी समूह एवं व्यक्तिहरूसँग संवाद र सहकार्यको व्यवस्थित पहल पार्टीको संवाद समितिले अघि बढाउने प्रस्ताव उनले दस्ताबेजमा गरेका छन् ।

भट्टराईले वैकल्पिक राजनीतिलाई यो युगको अपरिहार्य आवश्यकताका रूपमा उल्लेख गर्दै लेखेका छन्, ‘हामी आकस्मिकताले त्यसका वाहक हौँ । हामीले वैकल्पिक राजनीतिक शक्ति निर्माण नगरे वा गर्न नसके युगले अर्को पात्र जन्माउनेछ । तर संसार र नेपालको यो ऐतिहासिक घडीमा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको विकल्प छैन ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै