Page 153 – Nepalboli

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटका सम्बन्धमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल भएको छ । मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अङ्कभन्दा नीतिगत रूपान्तरणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले सङ्घीयताको मूल मर्म र भावना, सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार सङ्घमा रहेका कार्यक्रम तथा आयोजनाको हस्तान्तरण, तीनै तहका सरकारबिचको समन्वय र साझेदारीलाई बजेटमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश र स्थानीय तहले गर्ने काम सङ्घीय सरकारले गर्दा सङ्घीयता बलियो नहुने उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडेलले विगतका सबै कार्यक्रम र योजनाको समीक्षा गरी सङ्घीय योजनामा केन्द्रित हुन, कार्यक्रम तथा योजना रोक्न, घटाउन, समायोजन गर्न, अत्यावश्यक कार्यक्रमलाई निरन्तरता दिन र परिवर्तित समयअनुसार जनता केन्द्रित कार्यक्रम तथा योजना समावेश गर्न आग्रह गर्नुभयो । उहाँले तीन करोडभन्दा कमका आयोजना समावेश नगर्न पनि अनुरोध गर्नुभयो ।

अर्थमन्त्री पौडेले अध्ययन र कार्यान्वयनमा जाने योजना तथा कार्यक्रमलाई प्राथमिकीकरण गर्न पनि जोड दिनुभयो । कार्यक्रम तथा योजना पेस गर्दा रकमान्तर र शोधान्तर गर्न नपर्ने गरी यथार्थपरक प्रस्ताव पेस गर्न उहाँले आग्रह गर्नुभयो ।

उपलब्ध साधनस्रोतलाई ख्याल गर्दै जनताको आङ्काक्षा र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्रीको भनाइ छ । दुई दिन अघि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसँग छलफल गरी बजेट विनियोजनाका साथै पुँजीगत खर्चमा विशेष ध्यान दिन आग्रह गरेको थियो ।

अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसहित सम्बन्धित मन्त्रालयसँग छुट्टाछुट्टै छलफल गर्दै आएको छ । तीन पक्षबीचको समन्वयमा कार्यक्रम र बजेट आउँदा कार्यान्वयनमा अपनत्व बढ्ने र उचित परिणाम देखा पर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले यसअघि भौतिक, सहरी विकास, सञ्चार, शिक्षा, रक्षा, गृह, खेलकुद, भूमि सुधार, कृषि, खानेपानी, सङ्घीय मामिला, उद्योग, स्वास्थ्य, ऊर्जा, महिला तथा बालबालिका मन्त्रालयसँग छलफल गरेको थियो । आगामी बजेटका सम्बन्धमा बाँकी मन्त्रालयसँग पनि छलफल गर्ने अर्थ मन्त्रालयको कार्यक्रम छ ।

 

बस्दै नबसी सूचना टाँसेर स्थगित भयो प्रतिनिधि सभाको बैठक

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो।दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै सदनको बैठक बस्न सकेको छैन।

प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण दिनुपर्ने माग राख्दै विपक्षीहरुले सदन अवरोध गर्दै आइरहेका छन्।

सबैको सहमतिमा संविधान संसोधन हुन्छ- गृहमन्त्री लेखक

गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान संशोधन जस्तो कुरा दुई तिहाइले मात्र नभई सबै पार्टी र सरोकारवालासँगको व्यापक छलफलपछि सहमतिको वातावरण बनाएर मात्र संशोधन गरिने बताउनुभएको छ। नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर–३ ले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री लेखकले संविधानमा संशोधनमा सबैको सहमतिको आवश्यकता औँल्याउनुभयो। संविधान बनेको १० वर्ष भएको उल्लेख गर्दै उहाँले यसको अभ्यासको क्रममा राम्रा पक्ष र जटिलता देखिएका पक्षमा समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो। आवधिक रूपमा संविधानको समीक्षा गर्नुपर्ने उहाँको भनाइ थियो।

“हामीले संविधानको अभ्यास भएको १० वर्षमा सकारात्मक पक्ष के रहे र कहाँ, कहाँ जटिलता र समस्या छन् भनेर पहिचान गर्नु पर्छ”, मन्त्री लेखकले भन्नुभयो, “समस्या पहिचानपछि संविधान निर्माण गर्न जति पार्टी थिए, अहिले संविधानसभामा जति पार्टी छन्, ती पार्टीहरूका बिचमा व्यापक संवाद र छलफल गरी सहमतिको आधारमा संशोधन हुन्छ।”

गृहमन्त्री लेखकले मुलुक फेरि निरङ्कुशता र तानाशाहीतर्फ नजाने बताउनुभयो। नेपाल निरङ्कुश र तानाशाही व्यवस्था फालेर लोकतान्त्रिक व्यवस्थामा अगाडि बढिसकेको उहाँले उल्लेख गर्नुभयो। “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा समाज अगाडि बढी सकेपछि फेरि त्यो समाज निरङ्कुशता र तानाशाहीतर्फ फर्केर जान्छ भन्ने कुरा समाज विकास विज्ञानले मान्दैन”, मन्त्री लेखकले भन्नुभयो, “हामीले गर्नुपर्ने काम जति गर्नुपर्थ्यो गर्न सकेका छैनौँ, हुनुपर्ने काम भएका छैनन्। यसले नागरिकमा केही चिन्ता र पीडा अवश्य छ। त्यो चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्था कै विरुद्धमा प्रयोग गर्ने काम भइरहेको छ।”

नेपाली कांग्रेस अहिलेको व्यवस्थाको पक्षमा उभिन जरुरी रहेको उल्लेख गर्दै मन्त्री लेखकले कांग्रेस संविधानको रक्षा गर्न तत्पर रहनुपर्ने जिकिर गर्नुभयो।

कार्यक्रममा नेपाल शिक्षक महासङ्घ सिद्धार्थनगरका अध्यक्ष चर्तुभुज रेग्मी, कांग्रेस क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनाल, क्षेत्रीय प्रतिनिधि गुरचरण प्रजापति, क्षेत्रीय सहसचिव कुलप्रसाद न्यौपाने, पर्यटन व्यावसायी सञ्जय बजिमय, पूर्वमहाधिवेशन प्रतिनिधि भरथरी यादव, युवा नेता टीका जिसी, नारायणप्रसाद कोइराला, सिद्धार्थनगर–४ का सभापति नरेन्द्रप्रसाद रौनियार, जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि विनय ज्ञवालीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।

 

 

 

वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा रु तीन खर्ब ९० अर्ब १८ करोड मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ११ दशमलव ४० प्रतिशत अर्थात् ३९ अर्ब ९२ करोड बढीका सामान भित्रिएका हुन् । गत आवको आठ महिनामा रु तीन खर्ब ५० अर्ब २६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्राइएका थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थ, भटमासको कच्चा तेल र सवारीसाधनको आयातमा उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिए ।

उनका अनुसार चालु आवको आठ महिनामा रु एक खर्ब २२ अर्ब २० करोड मूल्य बराबरको विभिन्न पाँच किसिमका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही समयमा भने रु एक खर्ब २० अर्ब ५३ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।

यो नाका हुँदै चालु आवको आठ महिनामा रु २९ अर्ब २९ करोड मूल्य पर्ने भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । गत आवको पनि सोही समयमा भटमासको कच्चा पदार्थ रु पाँच अर्ब ७८ करोड मूल्य बराबरको भित्रिएको थियो । चालु आवको आठ महिनामा रु २२ अर्ब ५१ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री आयात भएकामा गत आवको सोही अवधिमा रु २१ अर्ब ९४ करोड मूल्य बराबरको आयात भएको थियो ।

चालु आवको आठ महिनामा रु २१ अर्ब ६७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुजा आयात भएको छ भने गत आवमा रु १८ अर्ब ६५ करोड मूल्य पर्ने सोही सामान आयात भएको थियो । चालु आवको आठ महिनामा रु ११ अर्ब ६८ करोड मूल्य बराबरका यातायातका सवारीसाधन आयात भएका छन् ।

गत आवको सोही अवधिमा रु १० अर्ब १० करोड मूल्य पर्ने सवारीसाधन आयात भएका भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए ।

हवाई टिकटमा लगाइएको कर हटाउन माग

हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पर्यटन व्यवसायीले माग गरेका छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा लगाइएको करबारे व्यवसायी एवं सरोकारवालासँग गरेको अन्तरक्रियाका क्रममा वक्ताले हवाई टिकटको भ्याट हटाएर अरू विकल्प खोज्न सुझाव दिएका हुन्। व्यवसायीले हवाई भाडा महँगो भएकै कारण विदेशबाट नेपाल आउन लागेका नेपाली नागरिक विदेशी एयरलाइन्सको प्रयोग गर्न बाध्य भएको भन्दै नेपाल आगमनलाई सहज बनाउन आग्रह गरे। टिकट महँगिएकै कारण नेपाल आगमन हुने विदेशी पर्यटकमा असर परेको व्यवसायीको दाबी छ।

नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हवाई टिकटमा लगाइएको भ्याटले एयरलाइन्सलाई समेत असर परेको र हवाई यात्रु महँगो टिकट खरिद गर्न बाध्य भएको बताउनुभयो। हवाई उड्डयन मात्र नभई पर्यटनका अन्य व्यवसायमा पनि यसको प्रत्यक्ष असर परेको उहाँको भनाइ छ।

नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले समग्र पर्यटन क्षेत्रमा लगाइने करको नीतिगत रुपमा सहज बनाइनुपर्ने धारणा राख्नुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटमा हवाई क्षेत्रलगायत पर्यटनका अन्य व्यवसायमा समेत लगाइने करमा हेरफेर गरिनुपर्नेमा जोड दिनुभयो।

नाट्टाका पूर्वअध्यक्ष मधु आचार्यले सरकारले हवाई टिकटमा लगाएको करलाई हटाएर अन्य विकल्प खोज्न सुझाउनुभयो। छिमेकी मुलुक भारतमा आन्तरिकमा पाँच प्रतिशत र विजनेस क्लासको टिकटमा १२ प्रतिशत कर लगाएको उदाहरण दिँदै नेपालको सन्दर्भमा कर व्यावहारिक नभएको दाबी गर्नुभयो। “हवाई टिकट महँगो भएकै कारण विदेशी पर्यटक आगमन खुम्चिएको छ,” उहाँले भन्नुभयो, “पर्यटक आकर्षण गर्न हवाई टिकटमा भ्याट हटाएर अरू उपाय खोज्नु उपयुक्त हुन्छ।”

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष बिष्टले हवाई टिकट महँगो भएकाले नेपाल आउने विदेशी पर्यटक पनि खुम्चिएको बताउनुभयो। भ्याटले व्यावसायिक वातावरण नबनेको तथा समग्र व्यवसायमा असर परेको दाबी गर्नुभयो। सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमार्फत हवाई टिकटमा भ्याट लाग्ने व्यवस्था गरेको थियो।

गर्मीसँगै बढ्छ उखु जुस व्यापारीको आम्दानी

तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ। मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन्। यस वर्ष त झन् सुक्खा हिउँदको असरस्वरुप गर्मी बढ्ने भन्दै आमनागरिक चिन्तित छन् तर यहाँका उखुको जुस व्यापारी भने उत्साहित हुँदै महोत्तरीका बजार क्षेत्रका चोकचोकमा देखिन थालिसकेका छन्।

गौशाला–५ का मोहम्मद साबिर चैत लागेसँगै दैनिकजसो करिब एक क्विन्टल उखु पेलेर जुस बेच्न थालेको र गर्मी बढ्दै जाँदा व्यापार पनि थपिँदै गएको बताउँछन्।

‘अहिले राम्रो बिक्री छ, कुनैकुनै बेला त ग्राहकको भीड नै लाग्छ’, बर्दिबासचोक र आसपास ठेलामा घुमन्ते व्यापार गर्दै आएका उनले भने, ‘मध्याह्नपछि जुस खोज्ने बढी हुन्छन्। चैत लागेयता दैनिक करिब एक क्विन्टल उखु पेलेर बेच्ने गरेको छु।’

धेरै जाँगर र आँट चल्ने युवा उमेर विदेशमा बिताएका ४० वर्षीय साबिरले उखुको जुस बेच्न थालेको एक वर्षमात्र भयो। यसै अवधिमा जहान परिवार, चार छोराछोरीको शिक्षादीक्षासहित विदेश जाँदा लागेको रु तीन लाखभन्दा बढी ऋण तिरेको उनले सुनाए।

‘गर्नेलाई त यही ठाउँ रहेछ नि, के गर्नु पहिले विदेश गएर के के न गरौँला भन्ने लाग्यो, तीनपटक गरेर १२ वर्ष मलेसिया र कत्तारमा बिताइयो। ऋणको भारी बोकियो’, साबिर भन्छन्, ‘उता हण्डरठक्कर खाएपछि, ठगिएपछि बल्ल यहाँ केही गर्ने होस खुल्यो। अहिले यहाँको मेहनतबाट प्राप्त उपलब्धिले पहिले नै किन बुद्धि आएन छ भन्ने सोच्छु। राम्रै भइरहेको छ।’ उखुको जुसको व्यापारबाट महिनामा करिब रु ५० हजारसम्म कमाइ हुने गरेको उनको भनाइ छ।

बर्दिबास चोकबजार क्षेत्रमा हाल साबिरजस्ता १५र१६ जनाले यस्तै व्यापर गर्न थालेका छन्। जसमा विदेश गएर फर्किएकाहरू नै बढी छन्। तीमध्येका एक हुन् धनुषाको मिथिला नगरपालिकाका पञ्चलाल साह। बर्दिबासचोकमा जुस बेच्ने गरेका उनले भने, ‘दलालको पछि लागेर विदेश गइयो, ऋणले थिच्यो, उता भनेको काम पाइएन। यहाँ फर्किएपछि यही काम गरिरहेको छु। अबभने आफ्नो ठाउँ छोडेर कतै जाने सोच छैन।’

पछिल्ला दुई वर्षदेखि यही काम गरिरहेको बताउने साहले छ जनाको परिवारको लालनपालनसहित मासिक रु ३० हजारसम्म बचाइने गरेको बताए। आफ्नो ठाउँमा सानो लगानीमा सुरु गर्न सकिने उद्यम छाडेर विदेश धाएको विगत सम्झेर अचेल पछुतो मात्रै लाग्ने गरेको उनको भनाइ छ।

गर्मी बढेसँगै बर्दिबासमात्र नभएर जिल्लाका गौशाला, रामगोपालपुर, औरही र सदरमुकाम जलेश्वरमा पनि उखुको जुसको व्यापार फस्टाउँदो छ। यस्तो व्यापारमा लागेकाहरू आफ्नो गाउँठाउँभन्दा छिमेकका बजारमा रमाउने गरेका छन्।

‘छन् त हाम्रै ईश्वरपुर र लालबन्दीमा पनि जुसको राम्रो व्यापार छ तर आफूलाई चिनेको क्षेत्रमा भन्दा अलि पर काम गर्दा खुलेर गर्न पाइँदो रहेछ’, सर्लाहीको ईश्वरपुर नगरपालिकाको श्रीनगरका २१ वर्षीय विक्कीकुमार साह भन्छन्, ‘आफ्नो ठाउँमा सघाउनेभन्दा टिप्पणी गर्ने बढी हुन्छन्, त्यसैले घरबाट १५र१६ किलोमिटर यता बर्दिबास रोजेको हुँ।’ विदेश जान राहदानी ठिक्क पारिसकेका उनी कसैले ऋण नपत्याएपछि यस काममा लागेको र हाल यसैमा सन्तुष्ट रहेको सुनाँछन्।

‘मलाई कसैले ऋण नपत्याएर ठिकै भएछ, पत्याएको भए त खै कुन देशमा कस्तो अवस्थामा हुन्थे। अचेल आफ्नै देशमा रमाइरहेको छु। ऋणको भारले थिचिनु परेको छैन, आम्दानी पनि ठिकै छ’, साहले खुसी व्यक्त गरे।

औरही बजारमा व्यापार गर्ने भङ्गाहा–३ का समिम कवारी पनि गर्मी बढेसँगै व्यापारसमेत बढ्ने भन्दै खुसी छन्। ‘उखुको व्यापार राम्रै हुन्छ तर गर्मी बढेपछि झनै माग बढ्छ। गर्मी भोग्दा त समस्या नै हुन्छ तर व्यापार पनि हुने भएकाले हाम्रा लागि त यो अवसरका रूपमा आउँछ। यसबाट हुने कमाईसँगै परिवारसँग बसेर खुसी साट्न पाउँला निकै रमाइलो लाग्छ’, उनले भने।

ठेला र मोटर जडानमा रु दुई लाख जति लगानी गरेमा आफ्नै व्यापार गर्न पाइने भन्दै यसमा लागेका प्रायः सबैजसो व्यापारीहरू खुसी व्यक्त गर्छन्। त्यसैमा उधारोमा उखु किनेर जुसबाट भएको आम्दानीबाट त्यसको मूल्य चुक्ता गर्न पाइने हुँदा पनि यो व्यवसाय थप सहज हुने गरेको छ। यहाँ रु एक हजारमा प्रतिक्विन्टलमा उखु पाइने गरेको छ। प्रतिक्विन्टल रु १०० उखु छिल्न खर्च हुने गरेको छ। महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चा पदार्थ ९उखु० खोज्न भौँतारिनु नपर्ने भएकाले पनि आफूहरू सहज हुने गरेको व्यापारीहरूको भनाइ छ।

उखुको रस स्वास्थ्यका लागि पनि गुणकारी र कुनै अखाद्य वस्तुको मिसावट नहुने भएकाले पनि गर्मीयाममा यसको माग बढ्ने गरेको छ। बजारमा पाइने अन्य पेयपदार्थभन्दा उखुको जुसको स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुने हुँदा तराई मधेसमा उपभोक्ताको रोजाइमा पर्ने गरेको बर्दिबास नगरपालिका, स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान बताउँछन्।

 

चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर

चालु आर्थिक वर्ष २०८१-८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जिडिपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो । यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको वृद्धिदर हो । दोस्रो त्रैमासिकको मौसमी प्रभाव समायोजनपछिको जिडिपी वृद्धिदर भने दुई दशमलव दुई प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

“दोस्रो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा यातायात, निर्माण क्षेत्र, कृषि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धिसँगै वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन्”, कार्यालयले भनेको छ, “खासगरी यस अवधिमा शिक्षा, आवास तथा भोजन र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान रहेको छ ।”

मौसमी प्रभाव समायोजित तथ्याङ्कका आधारमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये दुईओटामा ऋणात्मक वृद्धिको अनुमान गरिएको छ । विद्युत् तथा ग्यास क्षेत्रमा चार दशमलव आठ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा दुई दशमलव सात प्रतिशतको ऋणात्मक वृद्धि देखिएको छ ।

मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै १४ दशमलव दुई प्रतिशत वृद्धिदर रहेको छभने खानी तथा उत्खनन क्षेत्र नौ दशमलव पाँच प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।

यसैगरी, निर्माण सामग्रीहरूको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर नौ दशमलव एक प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । उत्पादनमूलक उद्योगको वृद्धिदर सात दशमलव चार प्रतिशत र निक्षेप तथा कर्जामा भएको वृद्धिका कारण वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर छ दशमलव छ प्रतिशत हुने अनुमान गरिएको छ । व्यापार क्षेत्रको वृद्धिदर छ दशमलव एक र सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर चार दशमलव नौ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

मुलुकको अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पु¥याउने कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव दुई प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ । “धानको उत्पादनमा भएको वृद्धिका साथै तरकारी, अमिलो जातको फलफूल तथा हिउँदे फलफूल र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ”, सार्वजनिक विवरणमा भनिएको छ ।

अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्रका रूपमा रहेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारण केही विस्तार देखिएको जनाइएको छ ।

यस्तै, औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हुन गएको प्रारम्भिक अनुमान छ । दोस्रो त्रैमासिकमा सार्वजनिक प्रशासन तथा रक्षा दुई दशमलव दुई, स्वास्थ्य तीन दशमलव एक, घरजग्गा कारोबार तीन दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने विद्यालय भवनको सप्तरीमा शिलान्यास

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी, सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाका मेयर श्रीमती गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव सुश्री गरिमा नौटियालले संयुक्त रूपमा उक्त विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु २.७६ करोड परियोजना लागतमा श्री जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण भइरहेको छ । भारत सरकारको अनुदानमा बन्ने तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा राखिएको छ भने सप्तरीको सुरुङ्गा नगरपालिका मार्फत यो कार्यान्वयन गरिँदैछ ।

श्री जनता माध्यमिक विद्यालय सन् १९५१ मा स्थापना भएको थियो । यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ६०० विद्यार्थीहरू छन् ।

माननीय मन्त्री, सप्तरीको सुरुङ्गा नगरपालिकाका मेयरस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले निर्माण हुने पूर्वाधारले सप्तरीको श्री जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये ८२ वटा परियोजनाहरू मधेश प्रदेशमा छन् जसमा सप्तरीमा ९ वटा परियोजनाहरू रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये मधेश प्रदेशमा २२५ वटा एम्बुलेन्स र ३४ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको छ । जसमध्ये २४ वटा एम्बुलेन्स र २ वटा स्कूल बस सप्तरीमा उपहार स्वरूप प्रदान गरिएको छ ।

 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक विपक्षीको विरोधका कारण स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन। त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो। प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ।
यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेट अघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका थिए।

तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

सभामुख घिमिरेका अनुसार अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ। त्यस्तै राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै बैठकमा निरन्तर अवरोध गरेका छन्।

यही कारण दिउँसो सवा १ बजे बोलाइएको बैठक कार्यसूचीमा पर्न सकेको थिएन। आधा घण्टाका लागि स्थगित बैठक बस्न सकेन। दोस्रो बैठक दिउँसो पौने ४ बजे बस्ने तय भएको थियो। तर, यो बैठकमा पनि विपक्षीले अवरोध कायमै राखे। त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक बिहीबार मध्यान्ह सवा १२ बजे बस्ने गरी बैठक स्थगित गरे।

चैत १५ गतेको विरोधसभाबारे यस्तो छ समाजवादी मोर्चाको नाराहरु

बुधबार एकीकृत समाजवादी को कार्यालय आलोकनगरमा बसेको बैठकले चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनको नारा तय गरेको छ। नारामा भ्रष्टाचारको विरोध, कुलमान घिसिङको विषय लगायत समेटिएको छ।

मोर्चाले चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनलाई व्यवस्थित बनाउनेबारे छलफल गरेको छ।  नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले हजारौंको संख्यामा काठमाडौंमा प्रदर्शन गर्ने तयारी भएको नेकपाले जनाएको छ।

उनले हजारौंको संख्यामा उपस्थित गराउने अनुमान गरेपछि लाख डेढ लाखसम्म हुनसक्ने विश्लेषण सुनाए। उनका अनुसार जुलुस कोटेश्वर हुँदै माइतीघर मण्डला, कुपन्डोल, कालीमाटी, नागपोखरी पुतलीसडक, केही सुन्धारा, भृकुटीमण्डपको माथिल्लो चोकमा पुगेर सभामा परिणत हुने बताए।