भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने विद्यालय भवनको सप्तरीमा शिलान्यास – Nepalboli

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने विद्यालय भवनको सप्तरीमा शिलान्यास

   २०८१ चैत्र १३, बुधबार  

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी, सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाका मेयर श्रीमती गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव सुश्री गरिमा नौटियालले संयुक्त रूपमा उक्त विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु २.७६ करोड परियोजना लागतमा श्री जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण भइरहेको छ । भारत सरकारको अनुदानमा बन्ने तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा राखिएको छ भने सप्तरीको सुरुङ्गा नगरपालिका मार्फत यो कार्यान्वयन गरिँदैछ ।

श्री जनता माध्यमिक विद्यालय सन् १९५१ मा स्थापना भएको थियो । यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ६०० विद्यार्थीहरू छन् ।

माननीय मन्त्री, सप्तरीको सुरुङ्गा नगरपालिकाका मेयरस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले निर्माण हुने पूर्वाधारले सप्तरीको श्री जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये ८२ वटा परियोजनाहरू मधेश प्रदेशमा छन् जसमा सप्तरीमा ९ वटा परियोजनाहरू रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये मधेश प्रदेशमा २२५ वटा एम्बुलेन्स र ३४ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको छ । जसमध्ये २४ वटा एम्बुलेन्स र २ वटा स्कूल बस सप्तरीमा उपहार स्वरूप प्रदान गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै