महाअष्टमीमा देशभरका शक्तिपीठमा भक्तजनको भीड, बिहानैदेखि दर्शनार्थीको घुइँचो
काठमाडौँ— बडादशैंअन्तर्गत नवरात्रको आठौँ दिन महाअष्टमीका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । देवीको दर्शन, पूजार्चना र विशेष साधनाका लागि काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका शक्तिपीठमा ठूलो संख्यामा भक्तजन पुगेका छन् ।
काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी, टोखा चण्डेश्वरी लगायत देवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सजाइएको छ ।
देशका प्रमुख शक्तिपीठमा पनि महाअष्टमीको विशेष पूजाआजा भइरहेको छ । दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती तथा राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली र बाराको गढीमाईमा पनि दर्शनार्थीको उल्लेख्य उपस्थिति रहेको छ ।
महाअष्टमीका दिन देवीका विभिन्न स्वरूपको विशेष पूजाराधना गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार शारदीय नवरात्रका समयमा शक्तिपीठमा पुगेर देवीको दर्शन तथा पूजाआजा गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
नवरात्रका नौ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गर्ने परम्परा रहेको छ । भक्तजनले आफ्नो श्रद्धा र परम्पराअनुसार उपवास, पूजा, दीप प्रज्वलन तथा विशेष साधना गर्दै देवीको आराधना गरिरहेका छन् ।
महाअष्टमीसँगै दशैंको धार्मिक उत्साह थप चुलिएको छ भने शक्तिपीठ तथा देवी मन्दिरमा दर्शनार्थीको चहलपहल पनि बढेको छ ।