पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती प्रदेशका सम्पूर्ण भूभागमा मनसुनी वायुको प्रभाव परेको छ । गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । यो वर्षको मनसुन जुन १९ गते शुक्रबार नेपाल प्रवेश गरेको थियो ।
आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि मङ्गलबार र पर्सी बुधबार देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका प्रदेशका तराई भूभागमा साधारणतया तथा मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ ।
सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्कसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।