प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक विपक्षीको विरोधका कारण स्थगित – Nepalboli

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक विपक्षीको विरोधका कारण स्थगित

   २०८१ चैत्र १३, बुधबार  

प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन। त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो। प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ।
यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेट अघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका थिए।

तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

सभामुख घिमिरेका अनुसार अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ। त्यस्तै राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै बैठकमा निरन्तर अवरोध गरेका छन्।

यही कारण दिउँसो सवा १ बजे बोलाइएको बैठक कार्यसूचीमा पर्न सकेको थिएन। आधा घण्टाका लागि स्थगित बैठक बस्न सकेन। दोस्रो बैठक दिउँसो पौने ४ बजे बस्ने तय भएको थियो। तर, यो बैठकमा पनि विपक्षीले अवरोध कायमै राखे। त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक बिहीबार मध्यान्ह सवा १२ बजे बस्ने गरी बैठक स्थगित गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै