शुक्रबार राजावादी समुहहरुले विरोध प्रर्दशनको नाउमा काठमाडौको तीनकुनेमा अराजता प्रर्दशन गरेका छन । राजावादीहरु हिंसात्मक प्रर्दशनमा उत्रे पछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रर्दशनकारीहरुले लगाएको एउटा घरमा जलेर एक जना पत्रकारको मृत्यूू भएको छ ।
प्रहरीको गोलीवाट कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिएका छन । शुक्रबार राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले गोली चलाउनुपरेको थियो । राजावादी प्रर्दशनकारस्हरुले कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी, तोडफोड र लुटपात, निजी सञ्चारगृह तथा निजी घरहरुमा समेत तोडफोड तथा आगजनी गरेका छन । दर्जनौ सवारी साधनमाथि समेत आगजनी भएको छ ।
प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा तोडफोड गर्दै लुटपाटसमेत गरेका छन्। भाटभटेनीको परिसरमा राखिएको फलफूलसँगै विभिन्न सामान लुटिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा फलफूल, पेय पदार्थसँगै अन्य सामान लुटेको देखिन्छ। शुक्रबार पूर्वराजा समर्थकको समूहले तीनकुनेमा विरोध कार्यक्रम राखेको थियो ।
आगजनीमा पत्रकार सुरेश रजकको निधन
शुक्रबार दिउँसो राजधानीको तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको निधन भएको छ। एभिन्यूज टेलिभिजनमा भिडियो पत्रकारका रुपमा कार्यरत रजकको आगलागी भएको भवनमा फसेर निधन भएको हो। आगलागी भएको भवनमा भिडियो खिच्नेक्रममा जलेर मृत्यु भएको एभिन्युजको खबरमा उल्लेख छ।
आगलागीपछि भवनबाट रजकको जलेको शव फेला परेको थियो। एभिन्युजका सञ्चालक भाष्करराज राजकर्णिकारले आगलागीमा परेका पत्रकारको उद्धार हुन नसक्दा दुःखद् घटना भएको बताउनुभएको छ।
प्रदर्शनकारीद्वारा जडीबुटी कारखानामा आगजनी
तीनकुने क्षेत्रमा शुक्रबार विरोधमा उत्रिएका प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् । जडीबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका सवारी साधन जलेर नष्ट भएको छ ।

जडीबुटी कम्पनीमा आगलागी तथा सवारी साधन जलेर नष्ट भएको फोटो तथा भिडियो सामग्री सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
कान्तिपुर र अन्नपूर्ण मिडियामा तोडफोड र आगजनी
तीनकुनेमा प्रदर्शनका लागि पुगेका केही अराजक समूहले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट्को कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेका छन्। तीनकुनेस्थित कर्पोरेट टावरमा रहेको अन्नपूर्ण पोस्टको कार्यालयमा पूर्वराजा समर्थित प्रदर्शनकारीले आगजनी प्रयास गरेका हुन्। प्रदर्शनकारीको ढुङ्गामुढाबाट अन्नपूर्ण कार्यालयमा क्षतिसमेत पुगेको छ।
यता कान्तिपुर टेलिभिजनमा ढुङ्गा मुढा भएको छ। आक्रमणबाट कान्तिपुर कार्यालय साथै चौथो तल्लाको समाचार कक्षमा क्षति पुगेको छ।
कर्फ्यू जारी
काठमाडौँको तीनकुने क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले शुक्रबार दिउँसो ४ः २५ देखि राति १० बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिनुभयो ।
यसैगरी, गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।
तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबिच झडप भएपछि सो क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ । प्रदर्शनकारीले श्री राज भवन र त्यहाँ रहेको कुमारी बैँकमा समेत तोडफोड गरेका छन् । तोडफोडपछि प्रदर्शनकारीले भवनमा आगजनीसमेत गरेका छन् ।