सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढेको छः सभापति देउवा – Nepalboli

सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढेको छः सभापति देउवा

   २०८१ चैत्र १४, बिहीबार  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित सङ्गठनहरूद्वारा बिहीबार आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सङ्क्रमणकालीन न्यायका लागि नै सरकारले हालैमात्र सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको बताउनुभयो । उहाँले अब छिट्टै नै यि आयोगहरूले पूर्णता पाउने दाबी गर्नुभयो ।

सभापति देउवाले आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट रहेको बताउनुभयो ।

‘‘वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको छ । सङ्क्रमणकालीन न्यायका लागि नै सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । अब छिट्टै यी आयोगहरूले पूर्णता पाउनेछन् ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने नै छ । वर्तमान सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौँ ।’’

चाँडै गठन हुन लागेको दुवै आयोगहरू स्वायत्त, विश्वसनीय र सक्षम हुनुपर्ने सन्दर्भमा द्वन्द्वपीडित एवम् मानव अधिकार समुदायको चिन्ता र चासो अवश्य समाधान हुने जिकिर गर्नुभयो । सरकारले गठन गरेको छनोट समितिले पनि पीडितका अधिकारलाई केन्द्रमा राखेर पारदर्शी ढङ्गले सक्षम र योग्य व्यक्ति सिफारिस गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरोकारवाला पक्षहरूसँग पनि छलफल गरेर सत्य निरुपण हुने हो । यस विषयमा तपाईंहरू सबैलाई विश्वास दिलाउन चाहन्छु । चाँडै गठन हुन लागेको दुवै आयोगहरू स्वायत्त, विश्वसनीय र सक्षम हुनुपर्ने सन्दर्भमा द्वन्द्वपीडित एवम् मानव अधिकार समुदायको चिन्ता र चासो अवश्य समाधान हुनेछ । सरकारले गठन गरेको छनोट समितिले पनि पीडितका अधिकारलाई केन्द्रमा राखेर पारदर्शी ढङ्गले सक्षम र योग्य व्यक्ति सिफारिस गर्नेछ भन्ने विश्वास छ ।’’

सभापति देउवाले सङ्क्रमणकालीन न्यायको विषय नेपालले आफैँ सुल्झाउन सके विश्वका अरू मुलुकका लागि पनि मानक बन्न सक्ने बताउनुभयो । बृहत् शान्ति सम्झौताअनुसार सङक्रमणकालीन न्याय दिएपछि नेपालले विश्वमाझ दीर्घकालीन शान्तिका मोडेल स्थापित गर्ने बताउनुभयो ।

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै