मधेस सरकारद्धारा एक वर्षे उपलब्धि सार्वजनिक, जनमत पार्टीद्धारा विरोध
मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्ने भन्दै आयोजना गरेको कार्यक्रममा सत्ता गठबन्धनकै एक घटक जनमत पार्टीले नारावाजी र विरोध गरेको छ । प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले एक वर्षको अवधिमा गरेका काम सार्वजनिक गरिरहेका बेला जनमत पार्टीका कार्यकर्ताले कार्यक्रम स्थलमै नारावाजी गरेका हुन्। जनमत पार्टीका कार्यकर्ताको अवरोधका कारण कार्यक्रम केहीबेर अवरुद्ध भएको थियो।
मधेस प्रदेश सरकारले भ्रष्टचारलाई प्रश्रय दिएको, विगतमा भएका साइकल प्रकरणको छानबिन नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले होहल्ला गरेका थिए। उनीहरुले साइकल चोरलाई कारबाही गर, भ्रष्ट सरकार मुर्दावाद जस्ता नारा लगाएर विरोध जनाएका थिए ।
जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा प्रदेश सरकारले स्वाभिमान दिवस तथा एक वर्षे कार्य विवरण सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो ।
२९ पुसमा जसपाका सरोजकुमार यादवले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थिए । एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रमपछि अहिले त्यही हलमा प्रदेश सरकारले स्वाभिमान दिवस मनाएको छ ।