माओवादीमा पूर्णकालीन पदाधिकारी र सदस्यलाई पैसा दिने प्रस्ताव
नेकपा (माओवादी केन्द्र) ले पूर्णकालीन पदाधिकारी र सदस्यहरूलाई पैसा दिन प्रस्ताव गरेको छ। माओवादीले पूर्णकालीन कार्यकर्तालाई निर्वाह खर्च व्यवस्था गर्न प्रस्ताव गरेको हो। उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले परिभाषित जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित समितिले निर्वाह खर्चको व्यवस्था गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित विधानको धारा ६१ मा यो व्यवस्था उल्लेख छ। पार्टी समितिलाई आवश्यक पर्ने पूर्णकालीन कार्यकर्ता बाहेकका सबै पार्टी सदस्यको आत्मनिर्भर आर्थिक जीवनका लागि श्रम तथा आर्थिक उत्पादनका कार्यक्रम र योजना बनाई कार्यान्वयन गर्ने प्रस्तावित विधानमा उल्लेख छ।
पार्टी नाम संशोधन गर्ने बारे दुई धार
माओवादी केन्द्रको पार्टीको नाम संशोधन गर्ने विषयमा स्थायी कमिटीभित्र दुई धार देखिएको छ ।प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका केही नेताहरूले यसलाई संशोधन गरेर जानुपर्ने बताएका छन् भने हरिबोल गजुरेल लगायतका नेताहरूले माओवादी भन्ने जुन ब्राण्ड हो त्यसलाई संशोधन गरेर पार्टी नै संशोधित धारमा जाने भन्दै विरोध गरेका छन ।
प्रचण्डले पार्टीको स्थायी समिति बैठकमा शनिबार विधान मस्यौदा २०८० को प्रस्ताव पेश गरेसँगै जनार्दन शर्माले पार्टीको नाम संशोधन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा गठित विधान मस्यौदा प्रस्ताव कार्यदलले तयार पारेको प्रस्ताव नै टेबल गरेको हुँदा उनले त्यसमा नेताहरूको समर्थन पाउने आशा राखेका थिए ।
शर्माले नेतृत्वमा एकै व्यक्ति कति कार्यकाल रहन पाउने भनी विधानमै किटान गरिनुपर्ने मत समेत राखेका छन् । पार्टी नेतृत्वका विभिन्न पदहरूमा मनोनयन गर्न प्रचण्ड एक्लै हाबी हुने गरेको भन्दै शर्माले असहमति जनाउँदै आएका छन् ।