रास्वपाद्धारा सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारलाई ध्यानाकर्षण
सवारी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपाका सचेतक निशा डागी, सहमहामन्त्री सुमना श्रेष्ठ र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत् दुर्घटना न्यूनीकरणका लागि दबाब दिएका हुन्।
माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौंको चन्द्रागिरी र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै यसलाई सामान्य रूपमा नलिन रास्वपाले ध्यानाकर्षण गराएको हो।
‘त्यसअघि र पछि पनि नियमितजस्तो सवारी दुर्घटना भइरहेका छन्। र, हामीलाई दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको छ। यो वर्षको मंसिरसम्म मात्र देशभर साना–ठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको नेपाल प्रहरीको तथ्यांक छ। जसमा ९ सय १६ जनाले ज्यान गुमाए। दुई हजार ७ सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भए। नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन्। र, त्यसमा ६ जनाको मृत्यु हुन्छ। चौध जना गम्भीर घाइते हुन्छन्। पछिल्लो तीन वर्षमा ५८ हजार ८ सय ७८ वटा दुर्घटना हुँदा ६ हजार १ सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन् भने १५ हजार ७ सय ७१ जना गम्भीर घाइते भए,’ रास्वपाले तथ्यांक प्रस्तुत गर्दै भनेको छ।
प्रत्येक वर्ष औसतमा २ हजार बढीले दुर्घटनामा ज्यान गुमाउने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ। नेपालका ६६ लाख ६६ हजार ९३७ परिवार रहेकोमा त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्याहारिरहेको उसले बताएको छ। दुर्घटनाको डरलाग्दो आँकडा र भयवाह दृश्य वारम्बार देखिरहँदा पनि सरकार र तिनका निकाय न्यूनीकरण गर्नेतर्फ गम्भीर नबनेको रास्वपाको निष्कर्ष छ।