त्रिभुवन विश्वविद्यालयद्धारा अनलाईन ट्रान्सक्रिप्ट दिने गृहकार्य – Nepalboli

त्रिभुवन विश्वविद्यालयद्धारा अनलाईन ट्रान्सक्रिप्ट दिने गृहकार्य

   २०८० पुष २९, आईतवार  

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) माघको पहिलो सातादेखि अनलाईन ट्रान्सक्रिप्ट दिने गृहकार्य गरेको छ । यसका लागि पनिकाले आइतबार विश्वविद्यालयका पदाधिकारीको उपस्थितिमा अनलाइन प्रणालीको डेमो (नमुना प्रदर्शन) गरेका छन । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भन्नुभयो, “अनलाइन प्रणाली लागु भएपछि विद्यार्थी पनिकामा धाइरहनु पर्दैन । शुल्क तिर्न बैङ्कमा लाम पनि बस्नु पर्दैन । विद्यार्थीले घरैबाट कागजात पेस गर्न सक्ने छन् । शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने छन् ।”

यो संगै पनिकाका अधिकांश सेवा अनलाइन प्रणालीबाट प्रवाह हुने भएकाले विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमै पुग्नुपर्ने र घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको हो ।

अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउनलगायत कामका लागि भौतिक रूपमा उपस्थित हुनु पर्दैन । पनिकाले अनलाइनबाट सेवा प्रदान गर्न दुई वर्षअघि नै तयारी गरेको भए पनि सूचना प्रविधिका दक्ष जनशक्ति अभाव भएकाले यो काम रोकिएको थियो ।

अनलाइनबाट प्रवाह गर्न सकिने अधिकांश सेवालाई अहिलेकै अवस्थाबाट विस्तार गर्न सकिने भए पनि सक्कली प्रमाणपत्र वितरणमा भने त्रिविले थप निर्णय गर्नुपर्ने हुन्छ । परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, “सक्कली प्रमाणपत्रमा अहिले विद्यार्थी आफैँ उपस्थित भएर फोटो टाँस्न लगाउनुपर्ने कानुनी व्यवस्था छ । विद्यार्थीले अनलाइनबाट अपलोड गरेको फोटो हाम्रा सूचना प्रविधिसम्बन्धी कर्मचारीले प्रमाणपत्रमा टाँस्ने छन् तर यसका लागि कार्यकारी परिषद्ले निर्णय गर्नु पर्छ ।”

उहाँका अनुसार विद्यार्थीले माग गरेको कागजपत्र पनिकाले केन्द्रीय तथा क्षेत्रीय कार्यालयमार्फत सम्बन्धित क्याम्पसमै पठाइदिने छ । पनिका अन्तर्गत अहिले बल्खुबाहेक नेपालगन्ज, अत्तरिया, पोखरा, विराटनगर क्षेत्रीय कार्यालयबाट परीक्षासँग सम्बन्धित काम भइरहेको छ । मधेश प्रदेशलाई लक्षित गरेर छिट्टै जनकपुर कार्यालयबाट पनि काम सुरु हुँदै छ । “हामीले बनाएको योजना अनुसार काम भयो भने केही समयपछि विद्यार्थीको प्रमाणपत्र उनीहरूले दिएको घरको ठेगानामै पुयाइदिने छौँ । यसका लागि हुलाकसँग पनि समन्वय गर्दै र्छौं,” उहाँले भन्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै