पञ्चेश्वर परियोजनाको डीपीआर अन्तिम चरणमा – परराष्ट्र मन्त्री साउद – Nepalboli

पञ्चेश्वर परियोजनाको डीपीआर अन्तिम चरणमा – परराष्ट्र मन्त्री साउद

   २०८० पुष २७, शुक्रबार  

पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु हुने परराष्ट्रमन्त्री एनपी साउदले दाबी गरेका छन । शुक्रबार बिहान डडेलधुरामा भएको पत्रकार सम्मेलनमा मन्त्री साउदले पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमवासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक रहेको बताए । उनले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णाली विद्युत् परियोजन अगाडि बनाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या घट्ने बताए ।

नेपाल–भारतबीच कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ता बाहेकका सीमामा धेरै सहमति भइसकेको बताएका छन् । मन्त्री साउदले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको पनि बताए ।

‘कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ । यसअघि भएको सीमा नक्सांकन र रेखांकनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ,’ उनले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ । सहमतिका साथ यो काम अघि बढिरहेको छ ।’ सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुंग्याउने प्रयास भइरहेको उनको भनाइ थियो ।

यसका साथै मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गरे । ‘भारतलाई १० हजार मेघावाट विद्यतु बिक्री गर्ने, पञ्चेश्वर सुरु गर्ने, जाजरकोट भूकम्प पीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउने लगायतका हामीबीच सम्झौता भएका छन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै