भारतसंगको सम्झौतामा धेरै तनाव लिनु पर्दैन, पञ्चेश्वर परियोजनाको ‘ब्रेक थ्रु’ केही दिनमै- प्रधानमन्त्री – Nepalboli

भारतसंगको सम्झौतामा धेरै तनाव लिनु पर्दैन, पञ्चेश्वर परियोजनाको ‘ब्रेक थ्रु’ केही दिनमै- प्रधानमन्त्री

   २५ पुष २०८०, बुधबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको भारतीय दूतावासले सिधै २० करोड रुपियाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भारतसँग हाल भएको सम्झौतामा भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न कुनै पनि त्यस्तो प्रावधान नराखिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘भारतसँग हाल भएको सम्झौतामा कुनै पनि त्यस्तो प्रावधान राखिएको छैन । जसले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न सुविधा दिन्छ । यसका साथै आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र अद्यावधिक समीक्षा समेत नेपाल सरकारकै संयन्त्रबाट हुन्छ ।

यो परिस्थितिमा यो सम्झौता बाहेक धेरै हामीले तनाव लिनुपर्ने कारण छैन । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिनसक्छ ।’’उनले सम्झौतामा नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय गर्नसक्ने बताए ।

प्रधानमन्त्रीले पञ्चेश्वर जलविद्युत् परियोजनाको ‘ब्रेक थ्रु’ केही दिनमै हुने दाबी समेत गरेका छन् । बुधबार सिंहदरबारमा बसेको कानुन समितिको बैठकमा उनले भने, “मलाई विश्वास छ, आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ । त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ ।”

आफ्नो भारत भ्रमण र केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाएको उनले बताए । १० हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौता लागु भएको भन्दै उनले पञ्चेश्वर अन्तिम चरणमा पुगेको बताए । यो परियोजना दुवै देशको राष्ट्रहीतमा रहेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै