प्रकाउ परेका राम बहादुर बम्जनको घरवाट ३ करोड बढी नगद बरामद, अदालतमा लैजाने तयारी – Nepalboli

प्रकाउ परेका राम बहादुर बम्जनको घरवाट ३ करोड बढी नगद बरामद, अदालतमा लैजाने तयारी

   २५ पुष २०८०, बुधबार  

‘तपस्वी’ बताउने राम बहादुर बम्जन (लिटिल बुद्ध) को घरबाट प्रहरीले ठूलो मात्रामा नगद बरामद भएको जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। बम्जन पक्राउपछि सीआईबीसहित प्रहरीको टोलीले बुढानीलकण्ठको हात्तीगौँडास्थित घरमा छापा मारेको थियो। छापा मार्दा ३ करोड ३० लाख ७५ हजार रुपैयाँ बरामद भएको सीआईबी स्रोतले जानकारी दिएको छ।

उनको घरबाट १५ वटा मोबाइल, ल्यापट र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ।

बम्जनविरुद्ध अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र ज्यान मार्ने कसुरको अभियोग छ। लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका उनलाई मंगलबार मात्रै प्रहरी पक्राउ गर्न सफल भएको हो। अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी छ ।

बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा किटानी जोहरी दिएकी थिइन् । जोहरीमा उल्लेख भएअनुसार रिता बाराको हलखोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् । पछि २०६६ सालमा गढीमाई मेलामा गएपछि उनी बेपत्ता थिइन् ।

गढीमाई मेलामा आफूले बली रोक्ने भन्दै त्यसबेला बम्जनले उद्घोष गरेका थिए । यद्यपि, त्यसको केही समयपछि उनी एक महिनासम्म हराएका थिए ।

यो मुद्दामा जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले बुधबार त्यहाँ उपस्थित गराएपछि अन्यत्रका मुद्दाबारे पनि अध्ययन गर्ने सीआईबीका एक अधिकृतले बताए । ‘त्यहाँको मुद्दा किनारा लागेपछि अर्कोतिर बुझाउँछौं’, ती अधिकृतले भने, ‘अहिलेलाई सर्लाही बुझाउने भन्ने छ ।’

बम्जनमाथि बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । यद्यपि, उनीहरु कहाँ होलान् भन्ने विषयमा प्रहरीले केही आधार फेला पारेको छैन ।

सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै समेत उजुरी समेत परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै