ज्योतिष विद्यालाई नयाँ प्रविधिसँग जोडेर विश्वभर प्रचार गर्नुपर्छ – उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गरी विश्वभर यसको प्रचार–प्रसारमा अघि बढ्न आवश्यक रहेको बताएका छन् । आज ललितपुरमा आयोजित नेपाल ज्योतिष परिषद्को रजत महोत्सवका अवसरमा उनले ज्योतिष विद्यालाई हचुवाका रूपमा अभ्यास गर्ने र यसलाई जीविकोपार्जनको माध्यम बनाउनेभन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमूलक विद्याको रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे ।
“ज्योतिष हाम्रो समाज तथा व्यक्तिगत र पारिवारिक जीवनसँग अभिन्न रूपमा गाँसिएको विद्या हो । यो प्रामाणिक र वैज्ञानिक विद्या हो”, उपप्रधानमन्त्री खड्काले भने “अब सामान्य हात हेर्ने र चिना टिप्पणी कोर्ने कुराबाट माथि उठेर समग्र आकाशीय पिण्ड र खगोलको खोजी तथा विभिन्न ग्रहहरूको स्थिति, गति र त्यसबाट मानव जीवनमा पर्नसक्ने सकारात्मक र नकारात्मक पक्षहरूको विश्लेषण गर्ने गरी ज्योतिष विद्याको विकास र अनुसन्धान गर्न आवश्यक छ ।”
उपप्रधानमन्त्री खड्काले ज्योतिष विद्या र खगोलीय पिण्डहरूको अवस्थिति र चलनबीच प्रत्यक्ष सम्बन्ध हुने भएकाले देशमा विभिन्न भागमा आधुनिक वेधशाला र ज्योतिषीय अनुसन्धान केन्द्रको विकास र विस्तार गर्दै जान आवश्यक रहेको समेत उल्लेख गरे ।