एकै कर्मचारीविरुद्ध भ्रष्टाचारका २० मुद्दा, १८ मा दोषी ठहर
एकै कर्मचारीविरुद्ध भ्रष्टाचारका २० वटा मुद्दा दायर भएकोमा १८ वटामा दोषी ठहर भएका छन् । पर्साको जगरनाथपुर गाउँपालिकाको शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक (शिक्षा अधिकृत) राजेश्वरप्रसाद चौरसियाविरुद्ध अख्तियार दुरुयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकोमा १८ वटामा दोषी ठहर भएका छन् ।
१८ वटा मुद्दामा उनलाई ६–६ महिना कैद सजाय भएको छ । उनले पालिका मातहतका बिद्यालयहरुमा फर्जी शिक्षक देखाएर संगठित रुपमा भ्रष्टाचार गरेका थिए । करार शिक्षक तथा बाल विकास सहयोगी नियुक्तिमा उनले भ्रष्टाचार गरेका थिए। अख्तियारले सो कुरा पत्ता लगाई २०७६ को असोजमा मुद्दा दायर गरेकोमा चार वर्षपछि फैसला भएको हो ।
श्री राम प्राथमिक विद्यालय पिपरडाढी, श्री नेपाल प्राथमिक विद्यालय दसौता, श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय बिजबनिया, श्री रामजानकी प्राथमिक विद्यालय बिजबनिया, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानी, श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पिपरीगुठी र श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय लगायत बिद्यालयमा शिक्षक नियुक्तिमा अनियमितता भएको थियो ।
उनीविरुद्ध १९ वटा रिसवत घुस, गलत विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको थियो ।