भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणमा भएका चार बुँदे सम्झौता स्वागतयोग्य – नेताहरु
भारतीय विदेशमन्त्री डा एस जयशंकरको नेपाल भ्रमणमा भएका चार बुँदे सम्झौता स्वागतयोग्य रहेको पुर्वउपप्रधानमन्त्री तथा काग्रेसका पुर्वउपसभापति विमलेन्द्र निधीले प्रशंसा गरेका छन् । उनले नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट लाभ लिनुपर्ने सुझाव समेत दिएका छन । निधीले कतिपय कम्युनिष्ट नेताहरुले दोधारे चरित्र वेलावखत देखाउने गरेको भन्दै भारत संग भएको अनुदान तथा सहयोग सम्झौतालाइ अनावश्यक रुपमा विवादमा ल्याउने काम ठिक नभएको जिकिर गरेका छन ।
निधीले शनिवार एक वक्तव्य जारी गर्दै नेपाल सरकारको छनौटमा हुने भारतको आर्थिक सहयोग सम्बन्धी सम्झौता सहित विद्युत व्यावार सम्बन्धी सम्झौताले प्रसंसायोग्य रहेक जिकिर गरेका छन । निधीले विद्युत व्यापार सम्भलौताले नेपाल र भारत विचको व्यापार घाटा कम हुने समेत दावी गरेका छन ।
यस्तै प्रतिनिधीसभाको अन्तराष्टिय समितिका सभापति तथा जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले पनि भारतीय विदेशमन्त्रीको हालै नेपाल भ्रमणको क्रममा भएको सम्भलौताहरु प्रसंशायोग्य रहेको बताएका छन । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भएका दुई देशबिचका सम्झौतालाई अहिले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा मूर्त रूप दिने काम भएको बताए ।
उनले भने ,‘सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यूको भारत भ्रमणको क्रममा जुन सम्झौता भए, ती सम्झौतालाई मूर्त रूप दिन भारतीय विदेशमन्त्री नेपाल आउनुभएको थियो । सम्झौता पहिले दुई सरकारबिच भएको थियो । अहिले नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा बुँदागत हिसाबले ४ बुँदे सहमति भयो । त्यो एकदमै सराहनीय छ । खासगरी १० हजार मेगावाट बिजुली भारतले किन्ने सम्झौता भयो । यो नेपालको आर्थिक क्षेत्रमा माइलस्टोन भयो । फड्को हो । यो काम पहिल्यै हुनुपर्दथ्यो । अरुण तेस्रो त्यतिवेला नै भएको भए र यी सम्झौता पहिले भएको भए आज देशको अवस्था अर्कै हुन्थ्यो । तत्कालीन नेतृत्वले आफ्नो दूरदर्शीता देखाएनन् ।’
यादवले भारतीय विदेशमन्त्री नेपाल आएर यसअघि भएका सम्झौतालाई मूर्त रूप दिएको भन्दै आगामी दिनमा नेपालले भारतबाट लाभ लिन सक्नुपर्ने सुनाए । उनले भने,‘भारतको छिमेकी पहिले भन्ने नीति छ । त्यो पोलिसीबाट नेपालले पनि आफ्नो हितमा फाइदा लिन सक्नुपर्छ । सबै जिम्मेवार दल र नेतृत्व लाग्नुपर्छ । अहिलेको हाम्रो चुरो कुरा भनेको देशमा आर्थिक समृद्धि र युवाहरूलाई रोजगारी सिर्जना गर्नुपर्छ ।’
उनले आर्थिक रूपमा समृद्धि हासिल गर्न नसकिए देशभित्र ठुलो चुनौती सामना गर्नुपर्ने अवस्था रहेको पनि सुनाए । उनले भने,‘अब हामीले हाम्रो आन्तरिक उत्पादनलाई बढाउनुपर्छ । छिमेकीसँग विश्वासको आधारमा सम्बन्ध बनाएर मुलुकको राष्ट्रिय हितलाई संवर्द्धन र प्रवर्द्धन गर्दै जानुपर्छ ।’