सभामुखद्धारा संसद अधिवेशन अघि संसदीय क्यालेण्डर बनाउने गृहकार्य
सभामुख देवराज घिमिरेले संसदीय क्यालेण्डर बनाउने गृहकार्य अघि बढाएका छन् । प्रारम्भिक क्यालेण्डर बनाएरै सभामुख घिमिरेले बुधबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका थिए । बिहीबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग छलफल गरेका छन् ।
हप्तामा तीन दिन प्रतिनिधिसभाको बैठक र तीन दिन संसदीय समितिको बैठक गर्नेलगायतको प्रस्ताव गरिएको छ । बढीमा एक महिनाको क्यालेण्डर बनाउने र त्यसपछि आवश्यकता अनुसार परिमार्जन गरेर जान सकिने गरी संसदीय क्यालेण्डर बनाउने गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ । शून्य समय, विशेष समयलाई व्यवस्थित गर्नेदेखि विधेयकमाथिको छलफलको विषयलाई पनि क्यालेण्डरमै राख्ने तयारी छ ।
प्रतिनिधि सभा नियमावली २०८० मा संसदीय क्यालेन्डरको विषय समावेश छ । नियमावलीको नियम २५५ मा यससम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘सभाले सुव्यवस्थित ढंगले कार्यसम्पादन गर्ने सम्बन्धमा कार्यतालिका बनाई लागू गर्न सक्नेछ ।’
यसअघि संसदको वर्षे अधिवेशन अन्त्य हुने अघिल्लो दिन १४ वैशाख २०८० मा पनि सभामुखले संसदीय क्यालेण्डरको विषयमा राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।